logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जाँदाजाँदै ट्रम्पले आठवटा चिनियाँ एप्समा प्रतिबन्ध लगाए


अंकुरण खबर
1.287K
Shares

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकाल अब केही दिनमात्र बाँकी छ र उनले जाँदाजाँदै आठवटा चिनियाँ एप्समा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

चिनियाँ एप्सलाई राष्ट्रिय सुरक्षाका लागि खतरा भएको आरोप लगाएका ट्रम्पले अलिपे, विच्याट समेत अन्य चिनियाँ कम्पनीसँग जोडिएका एप्समार्फत कारोबारमा प्रतिवन्ध लगाएका हुन्।

यस्ता एप्सले प्रयोगकर्ताको जानकारी चिनियाँ सरकारलाई पुर्‍याइरहेको ट्रम्पको दाबी छ।

ट्रम्पको आदेश अनुसार अलिपे, क्यामस्क्यानर, क्यूक्यू वालेट, शेयर इट, टेन्सेन्ट क्यूक्यू, वीमेट, वीच्याट पे र डब्ल्यूपीएस अफिसमा प्रतिबन्ध लाग्ने भएको हो।

उक्त कार्यकारी आदेश ४५ दिनमा लागू हुनेछ र त्यसबेलासम्म जो बाइडेनले अमेरिकाको राष्ट्रपति पद सम्हालिसकेका हुनेछन्। बाइडेनले २० जनवरीमा राष्ट्रपति पदको शपथग्रहण गर्ने कार्यक्रम तय छ।

यसअघि ट्रम्पले टिकटकमा प्रतिबन्ध लगाएका थिए तर, अदालतले उक्त आदेश उल्ट्याइदिएको थियो। टिकटक चिनियाँ कम्पनी बाइटडान्स अन्तर्गतको एप हो।

ट्रम्पले आदेशमा हस्ताक्षरसँगै वाणिज्य विभागलाई अन्य एप्समा प्रतिवन्ध लगाउनेबारे पनि समीक्षा गर्न आदेश दिएका छन् । एजेन्सी