logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पारित


अंकुरण खबर
1.196K
Shares

राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन्।

उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव केहीबेर अघि त्यहाँको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो।

गत बुधवार अमेरिकी संसद् भवनमा हूलदङ्गा गर्न प्रोत्साहित गरेको अभियोगमा उनीविरुद्ध डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए। सार्वजनिक मत परिणाम अनुसार महाभियोग प्रस्तावको पक्षमा २३२ मत परेको छ। महाभियोग पारित हुन २१७ मत आवश्यक थियो।

तल्लो सदनमा डेमोक्र्याटिक पार्टीका २२२ जना सदस्य छन्। तर ट्रम्पको दलका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिइन्। विपक्षमा १९७ जना रिपब्लिकन सांसद देखिए। तल्लो सदनले सन् २०१९ मा पनि उनी विरुद्ध महाभियोग पारित गरेको थियो।

तर त्यसबेला एकजना पनि रिपब्लिकनले महाभियोगमा साथ दिएका थिएनन्। सिनेटले उनलाई आरोपमुक्त गरिदिएको थियो। अब उक्त प्रस्ताव माथिल्लो सिनेटबाट पनि पारित हुनुपर्छ। त्यसको निम्ति दुई तिहाइ बहुमत आवश्यक हुन्छ। त्यो सङ्ख्या पुर्‍याउन ट्रम्पको दलका सिनेटरहरूको पनि साथ आवश्यक हुने बताइएको छ।

कम्तीमा १७ जना रिपब्लिकन सिनेटरहरू ट्रम्पको विपक्ष र महाभियोगको पक्षमा उभिनु पर्नेछ। न्यूयोर्क टाइम्सले २० जना रिपब्लिकन सिनेटहरू ट्रम्पलाई दोषी ठहर्‍याउने पक्षमा रहेको उल्लेख गरेको छ।