अफगानिस्तानको सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको गोली हानी हत्या गरिएको छ ।
दुई न्यायाधीश सरकारी सवारी साधनमा चढेर अदालत गइरहेको अवस्थामा राजधानी काबुलमा आइतबार विहान आक्रमण भएको हो । गोली लागेर सवारी चालक घाइते भएका छन् ।
पछिल्ला आक्रमणहरु तालिबान समूहले गराएको आरोप सरकारले लगाउदै आएको छ । तर तालिबान समूहले जिम्मेवारी लिन अस्वीकार गर्दै आएको छ । अफगानिस्तानका उच्च अदालतमा दुई सय भन्दा भन्दा बढी महिला न्यायाधीशहरु कार्यरत छन् ।
अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरी दुई हजार पाँच सयमा सीमित गर्ने घोषणा गरेको दुई दिन नबित्दै पछिल्लो आक्रमण भएको हो ।
तालिबान र अफगान सरकारबीच कतारको राजधानी दोहामा शान्ति वार्ता जारी रहेकै अवस्थामा अफगानिस्तानमा हिंसात्मक घटना बढेको भन्दै चिन्ता प्रकट गरिएको छ ।
अफगानिस्तानको सर्वोच्च अदालतमा यसअघि सन् २०१७ को फेब्रुअरीमा पनि आक्रमण गरिएको थियो । सो आक्रमणबाट कम्तीमा २० जना मारिनुका साथै ४१ जना घाइते भएका थिए । एजेन्सी