भारतको उत्तराखण्डको चमोली जिल्लामा हिमताल फुटेर आएको बाढीले बाँध भत्काएपछि अहिलेसम्म नौ जनाको ज्यान गएको र दर्जनौँ बेपत्ता भएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ ।
हिमताल फुटेपछि आएको बाढीले बाँध भत्काएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको अधिकारीहरूले बताएका छन् । कैयौँ गाउँबाट मानिसहरूलाई सुरक्षित स्थलमा पठाइएको छ । अधिकारीहरूले झण्डै डेढ सय मानिसहरू हराइरहेको हुन सक्ने बताएका छन् । हराइरहेकामध्ये अधिकांश त्यहाँको जलविद्युत् आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थाको अनुगमन गरिरहेको बताउनुभएको छ । उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘सबैको कुशलताका लागि यति बेला सम्पूर्ण देशले प्रार्थना गरिरहेको छ ।’ भारतीय वायु सेनालाई उद्धारकार्यका लागि तयार राखिएको सरकारले जनाएको छ ।
इन्डो–तिब्बती सीमा प्रहरीले चमोलीबाट दिएको जानकारीअनुसार हिमताल फुटेपछि आएको बाढीका कारण तपोवन क्षेत्रमा फसेका कम्तीमा १६ जनालाई प्रहरीले उद्धार गरेको छ । एजेन्सी