डेमोक्रेटिक पार्टीका सांसदले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोगमाथि आफ्नो बहस पूरा गरेका छन् ।
साथै उनीहरूले डोनाल्ड ट्रम्पले गएको ६ जनवरीमा क्यापिटल हिलमा दङ्गा भड्काएको बताएका छन् । उनीहरूले ट्रम्पलाई दोषी ठहर नगरिए ‘उनले फेरि यस्तो गर्न सक्ने’ बताए ।
बिहीवार महाभियोगका अभियोजकहरूले ट्रम्पले दङ्गा शब्द प्रयोग गरेर हिंसासँग जोडिएको बताएका थिए ।
आफ्नो तर्क राख्दै डेमोक्रेट्सले प्रहरी, इन्टेलिजेन्स अधिकारीहरुको बयान र विदेशी सञ्चारमाध्यम रिपोर्टहरू आदिको उल्लेख गरेका थिए ।
शुक्रवार ट्रम्पको बचाउ टिमले उनको प्रतिरक्षामा सिनेटमा आफ्नो तर्कहरू राख्नेछ ।
डेमोक्रेट्सको बहुमत भएको सदन हाउस अफ रिप्रेजेन्टेटिभले गएको महिना ट्रम्पमाथि महाभियोग प्रस्ताव पास गरेको थियो । ट्रम्पमाथि दङ्गा भड्काएको आरोप लगाइएको छ । यो हप्ता डेमोक्रेट्सले सिनेटमा आफ्ना पक्ष राखिरहेका थिए ।
ट्रम्पका वकिलहरूले भने ट्रम्पले गएको नोभेम्बरको राष्ट्रपति चुनावमा धाँधली भएको कुरा गर्दै आफ्नो अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गरिरहेको तर्क दिएका छन् ।
एक सय सिट रहेको सिनेटमा ट्रम्पलाई दोषी साबित गर्नका लागि दुई तिहाइ बहुमत आवश्यक पर्छ । अहिले दुवै पार्टीसँग सिट समान रूपमा विभाजित छ । यस्तोमा ट्रम्प मुक्त हुने सम्भावना छ किनभने धेरैजसो रिपब्लिकन सिनेटर अहिलेसम्म ट्रम्पप्रति बफादार देखिएका छन् ।
यदि ट्रम्पलाई दोषी ठहरे गरेको खण्डमा उनलाई चुनाव लड्नबाट रोक्नका लागि सदनमा मतदान हुनेछ । एजेन्सी