logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिलोपटक भारतमा महिलालाई दिइँदै छ फाँसी, को हुन् मृत्युदण्ड पाउने महिला ?


अंकुरण खबर
806
Shares

भारतीय राज्य उत्तर प्रदेशको मथुरा जेलमा फाँसी घर मर्मत गर्न थालिएको छ । पाँसी घर मर्मत गरिनुको कारण हो त्यहाँ एउटा महिलालाई मृत्युदण्ड दिइँदै छ ।

स्वतन्त्र भारतको इतिहासमा पहिलोपकट कुनै महिलालाई पाँसी दिन लागिएको हो । शबनम नाम गरेकी एक महिलालाई मथुरा जेलमा फाँसी दिन लागिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

जेल प्रशासनले भने ती महिलालाई मृत्युदण्ड दिन लागिएको हो भनेर प्रस्ट रुपमा भनिसकेको छैन । तर, मथुरा जेलमा महिलालाई फाँसी दिने व्यवस्था छ ।

मथुरा जेलमा एक सय ५० वर्ष अघि नै फाँसी घर बनाइएको थियो । यो जेलमा महिलालाई फाँसी दिने व्यवस्था रहे पनि भारत स्वतन्त्र भए यता यो जेलमा महिलालाई फाँसी दिइएको थिएन ।

हालै जेल प्रशासनले कसुरदारलाई फाँसीमा झुण्ड्याउने जल्लादलाई दुई पटक फाँसी घरको निरीक्षण गराएको बताइन्छ । उनकै सुझावका आधारमा फाँसी घरको मर्मत र फाँसीमा प्रयोग हुने डोरीसमेत मगाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अदालतले मृत्युदण्डको सजाय सुनाए पछि शबनमले राष्ट्रपति समक्ष क्षमा याचनाको निवेदन दिएकी थिइन् । राष्ट्रपतिले शबनमको क्षमा याचनालाई अस्वीकार गरेका कारण उनलाई अदालतको आदेश अनुसार मृत्युदण्ड दिने बाटो खुलेको हो ।

उत्तर प्रदेश राज्यको अमरोहा जिल्लाको बावनखेडी गाउँकी शबनमले आफ्नो प्रेमी सलीमसँग मिलेर १५ अप्रिल २००८ मा आफ्नै आमा, बुवासहित परिवारका ७ जनाको निर्ममतापूर्वक हत्या गरेकी थिइन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार शबनमले अंग्रेजी र भूगोल विषयमा एमए अध्ययन गरेकी छन् । तर उनका प्रेमी सलीमले पाँच कक्षासम्म मात्र अध्ययन गरेका छन् ।

उनीहरुबीचको सम्बन्धलाई परिवारले अस्वीकार गरेपछि दुवै मिलेर शबनमको परिवारकै हत्या गर्ने योजना बनाइएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

योजनाअनुसार उनीहरुले पहिला परिवारका सबै सदस्यलाई बेहोसीको औषधि खुवाएका थिए । बेहोस भएको मौका छोपी सबैलाई बञ्चरो प्रहार गरी हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

१५ जुलाई २०१० मा नै अमरोहा जिल्ला अदालतले शबनम र उनका प्रेमी सलिमविरुद्ध मृत्युदण्डको फैसला सुनाएको थियो । अदालतले फैसला सुनाएको करिब ११ वर्षपछि सबनमलाई फाँसी दिन लागिएको हो ।