logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जेफ बेजोसकी पूर्व श्रीमतीले विज्ञान पढाउने शिक्षकसँग गरिन् विवाह


अंकुरण खबर
819
Shares

अमेजनका सिइओ तथा संसारकै धनी व्यक्ति जेफ बेजोसकी पूर्व श्रीमती म्याकेन्जी स्कटले विज्ञान पढाउने शिक्षकसँग विवाह गरेकी छिन्।

विश्वका धनी महिलाको सूचीमा पर्ने म्याकेन्जी स्कटले जेफ बेजोससँग सम्बन्धविच्छेद भएको दुई वर्षपछि अर्को विवाह गरेको बिबिसीले लेखेको छ।

म्याकेन्जीले आफ्नै बच्चाहरू पढ्ने विद्यालयका विज्ञान शिक्षक डेन जुवटसँग विवाह गरेकी हुन्।

आफ्नो पूर्व श्रीमतीको विवाहको खबर पाएपछि जेफले नयाँ जोडीलाई बधाई पनि दिएका छन्। उनले भने पनि, ‘डेन धेरै राम्रो मान्छे हो र म दुवैको लागि खुसी र उत्साहित छु।’

फोर्बसका अनुसार ५३ बिलियन अमेरिकी डलरको हकदार म्याकेन्जीले आफ्नो नामको अधिकांश पैसा परोपकारी संस्था, फुड बैँक र कम बजेटका कलेजमा दान गर्ने भएकी छिन्।

उनी र जेफ करिब २५ वर्षसम्म वैवाहिक सम्बन्धमा थिए। सन् १९९४ मा उनले नै जेफलाई अमेजन सुरू गर्न मद्दत गरेकी थिइन्।

सन् २०१९ मा यी जोडीको सम्बन्धविच्छेद भएको थियो। त्यसबेला जेफ विश्वकै धनी व्यक्तिको सूचीमा पहिलो थिए र अमेजनको १६ प्रतिशत सेयर उनको नाममा थियो। सम्बन्धविच्छेदपछि म्याकेन्जीले उक्त हिस्साबाट चार प्रतिशत सेयर पाएकी थिइन्।

म्याकेन्जीले दुई उपन्यास पनि लेखेकी छिन्। हाल उनी आफ्नो चार छोराछोरी र श्रीमान डेनसँग अमेरिकाको सियाटलमा बसिरहेकी छिन्।