नेपालको सुदूरपश्चिम प्रदेशसँग पश्चिमी सीमा जोडिएको भारतीय प्रदेश उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले राजीनामा दिएका छन् ।
मंगलवार राज्यपाल बेबी रानी मौर्यालाई मुख्यमन्त्री रावतले राजीनामापत्र बुझाएका हुन् ।
भोलि बुधवार प्रदेशको राजधानी देहरादूनमा भारतीय जनता पार्टी ९भाजपा० विधायक दलको बैठक बस्दैछ । बैठकबाट नयाँ मुख्यमन्त्रीको चयन हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रदेश सांसदबीच मुख्यमन्त्री रावतप्रति असन्तुष्टि बढेपछि भाजपा केन्द्रले रावतलाई राजीनामा दिन भनेको थियो । उत्तराखण्डको अवस्था बुझ्न केही दिनअघि केन्द्रको टोली देहरादून आएको थियो ।
झण्डै ४ वर्ष मुख्यमन्त्रीको रूपमा जनताको सेवा गर्ने अवसर दिएकोमा भाजपालाई धन्यवाद दिएका छन् ।
रावतको राजीनामापछि अब नेताहरू धनसिंह रावत, सतपाल महाराज र अनिल बलुनीको नाम सम्भावित मुख्यमन्त्रीको रूपमा चर्चामा रहेको छ । एजेन्सी