भारतमा गत जनवरी १६ देखि कोभिड-१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी करिब तीन करोड व्यक्तिले खोप लगाइसकेका छन् ।
भारतमा गत २४ घण्टामा २६ हजार २९१ जनामा कोभिड-१९ को संक्रमण देखिएपछि कुल कोरोना संक्रमितको संख्या एक करोड १३ लाख ८५ हजारभन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज (सोमवार) जनाएको छ ।
भारतमा गत २४ घण्टामा कोभिड-१९ संक्रमणको कारण ११८ जनाको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५८ हजार ७२५ जना पुगेको छ । हाल भारतमा दुई लाख १९ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
केही दिनयता भारतमा सक्रिय संक्रमितको संख्या बढेको पाइएको छ । यसैबीच कोभिड-९९ को संक्रमण शुरु भएयता भारतमा हालसम्म एक करोड १० लाख ७ हजारभन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदले आइतवारसम्म देशभर २२ करोड ७४ लाख सात हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो आइतवार एकै दिनमा सात लाख ३ हजार ७७२ जनाको कोभिड-१९ परिक्षण भएको पनि समाचारमा जनाइएको छ । रासस