श्रीलङ्काका सबै विद्यालयहरू आउँदो अप्रिलदेखि खुल्ने भएका छन् ।
स्थानीय सिन्हला र तमिल समुदायको नयाँ वर्षपछि मात्रै सबै अध्ययन अध्यापन कार्य सुरु गर्नु उपयुक्त हुने भन्दै १९ अप्रिलदेखि सुरु गर्ने निर्णय भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
शिक्षा मन्त्रीले अप्रिल १९ देखि सबै विद्यालयहरु खोल्न आवश्यक तयारी भइरहेको जानकारी दिए ।
कोरोना भाइरसको दोस्रो चरणको महामारीका कारण श्रीलङ्कामा गएको अक्टोबरदेखि विद्यालयहरु बन्द छन् । ५, ११ र १३ का कक्षा भने हिजोदेखि सुरु भएका छन् । विद्यालयहरु सबै खोल्नु अगाडि सबै विद्यालयहरूलाई आधारभूत स्वास्थ्य मापदण्ड पूरा गर्न लगाइने र सञ्चालनका बेलामा ती सबै मापदण्ड पालना गर्नु पर्ने व्यवस्था गरिने भएको छ ।
श्रीलङ्कामा कोरोना भाइरसबाट अहिलेसम्म ८७ हजार ९०७ जना सङ्क्रमित भएका छन् भने तीमध्ये पाँच सय २७ जनाको ज्यान गएको छ ।