logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक सय दिनमा २० करोड नागरिकलाई खोप दिने बाइडेनको घोषणा


अंकुरण खबर
637
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको एक सय दिनमा २० करोड अमेरिकी नागरिकलाई खोप दिने लक्ष्य राखेको बताएका छन् ।

अमेरिकामा कोरोना भाइरसका नयाँ बिरामी बढ्दै गएका बेला बाइडेनले यस्तो महत्वाकांक्षी लक्ष्यको घोषणा गरेका हुन् । बाइडेनले भने-‘आज म दोस्रो लक्ष्य निर्धारित गरिरहेको छु ।

हामी आफ्नो कार्यकालको पहिलो एक सय दिनमा २० करोड नागरिकलाई कोरोनाविरुद्धको खोप दिनेछौँ ।’ राष्ट्रपति जो बाइडेनले आफ्नो लक्ष्य महत्वाकांक्षी भए पनि पूरा गर्न आफूहरु सफल हुने विश्वास व्यक्त गरेका छन् ।

बाइडेनले भने-‘मलाई थाहा छ यो महत्वाकांक्षी हो हाम्रो मूल लक्ष्यभन्दा दुई गुणा धेरै । तर कुनै अर्को देश यसको नजिक पनि पुगेको छैन जे हामी गरिरहेका छौँ । मलाई पूरा विश्वास छ यसमा हामी सफल हुने छौँ।’

अमेरिकामा अहिलेसम्म १३ करोड खोप वितरण

अमेरिकामा अहिलेसम्म कोरोना विरुद्धको १३ करोड डोज वितरण भइसकेको छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म तीन करोडभन्दा धेरैलाई सङ्क्रमण भएको छ । गएको २४ घण्टामा मात्रै ६२ हजारभन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन् । यस्तै गएको २४ घण्टामा १ हजार २४ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अहिलेसम्म सङ्क्रमणका कारण ५ लाख ५९ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् भने दुई करोड ३१ लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।