अन्तर्राष्ट्रिय

बंगलादेशमा लकडाउनविरूद्ध सडकमा उत्रिएकामाथि प्रहरीले चलायो गोली

बंगलादेशमा कोरोनाभाइरसको संक्रमण रोक्न गरिएको लकडाउनविरूद्ध भएको प्रदर्शन हिंसात्मक बनेको छ।

प्रदर्शनकारीहरूले प्रहरी कार्यालयमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर तीन जना घाइते भएका छन्।

सोमबार साँझ फरिदपुर जिल्लाको सल्थामा कोरोनाविरूद्धका स्वास्थ्य उपायहरू अपाउन कार्यन्वयन गराउने क्रममा प्रहरीको कुटपिटबाट बजारमा एक जना घाइते भएको भन्ने हल्ला फैलिएको थियो।

त्यसपछि हजारौंको संख्यामा प्रदर्शनकारीहरू बाहिर निस्किएका थिए। उनीहरूले प्रहरी कार्यालय र सरकारी कार्यालयहरूमा ढुंगामुडा गरेका थिए। सरकारी अधिकारीको घर र दुई वटा गाडीसमेत जलाएको प्रहरीले बताएको छ।

‘उनीहरूले प्रहरी कार्यालयमा आक्रमण गरेपछि प्रहरीले आत्मसुरक्षामा गोली चलाएको हो,’ फरिदपुर जिल्ला प्रहरीका प्रवक्ताले एएफपीलाई भने।

प्रहरीले कति जना घाइते भएको भन्ने जानकारी दिएको छैन। फरिदपुर मेडिकल कलेज अस्पतालको आपतकालीन वार्डका डाक्टर अब्दुल माटिनले तीन जनामाथि गोली लागेको बताए।

डाक्टरका अनुसार गोली लागेका तीन जनाको अवस्था गम्भीर छ।

बंगलालेशले सोमबारदेखि सात दिन देशव्यापी लकडाउनको घोषणा गरेको थियो।  कोरोना भाइरस संक्रमितको संख्या बढेपछि लकडाउन गर्ने निर्णय गरेको हो।

आइतबारमात्रै त्यहाँ कम्तिमा सात हजार ८७ जनामा कोरोना पुष्टि भएको छ।

राजधानी ढाकामा पनि सयौं पसल व्यापारीहरूले लकडाउनको विरोध गरेका थिए। उनीहरूले आफ्नो व्यापारमा घाटा गर्ने भन्दै विरोध गरेका थिए।

प्रहरीका अनुसार प्रहरी कार्यालयमाथि भएको आक्रमणमा हिफाजत-इ-इस्लामको संलग्नता छ। सो समूहले गत महिना  बंगलादेश आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरूद्ध प्रदर्शन गरेको थियो। त्यो प्रदर्शन पनि हिंसात्मक बनेको थियो।

समूहले अहिलेको घटनाको जिम्मा भने लिएको छैन। एजेन्सी

Comment here