अन्तर्राष्ट्रियकोरोना विशेष

ब्राजिलमा एकैदिन ४ हजार कोरोना संक्रमितको मृत्यु

ब्राजिलमा एकै दिन ४ हजार कोरोना संक्रमितको मृत्यु भएको छ। २४ घण्टा अविधमा मृत्यु भएका कोरोना संक्रमितको यो संख्या हालसम्मकै उच्च हो।

कोरोना भाइरसका विभिन्न भेरियन्ट देखिँदै गएकाले कोरोना संक्रमण र मृत्यु हुनेको संख्या पनि बढेको बताइएको छ । कोरोना संक्रमितको संख्या बढेपछि त्यहाँका अस्पतालमा भिडभाड बढेको बिबिसीले जनाएको छ । केही सहरमा संक्रमित उपचारको प्रतीक्षा गर्दागर्दै मरिरहेको बताइएको छ ।

ब्राजिलमा हालसम्म कोरोना संक्रमित मृतकको संख्या ३ लाख ३७ हजारभन्दा बढी पुगेको छ। अमेरिकापछि यो संख्या संसारकै बढी हो ।

संक्रामक रोग विशेषज्ञ इथल म्यासिअलले देश ‘डरलाग्दो’ अवस्थामा पुगेको बताएका छन्। उनले कम्तीमा पनि २० दिन लकडाउन गर्न सुझाएका छन् ।

कोरोना संक्रमण र मृतकको संख्या बढ्दै गएपनि ब्राजिली राष्ट्रपति जाइर बोल्सेनारोले लकडाउन नगरिने बताएका छन् । लकडाउन गरिए अर्थतन्त्र धरापमा पर्ने र झन् ठूलो क्षति हुने भएकाले लकडाउन नगरिने तर्क उनको छ । एजेन्सी

Comment here