logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धम्कीलगत्तै इरानी जल सेनाको विशाल पानीजहाज डुब्यो


अंकुरण खबर
1.326K
Shares

स्ट्रेट अफ होर्मुजमा इरानी जल सेनाको एउटा विशाल पानी जहाज समुन्द्रमा डुबेको छ ।

आगो लागेपछि उक्न पानीजहाज समुन्द्रमा डुबेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

खार्ग नामक जलसेनाको विशाल पानीजहाजमा बुधबार सबेरै आगो लागेको थियो । आलो लागेपछि पानीजहाजलाई कैयौं घण्टासम्म बचाउने प्रयास गरिएको तर आफूहरुको प्रयास विफल भएको इरानी अधिकारीहरुले बताएका छन् ।

तालिममा प्रयोग हुँदै आएको खार्गमा चालक दलका सदस्य र प्रशिक्षार्थीसहित ४ जना व्यक्ति रहेको समाचारमा उल्लेख गरिएको छ । पानीजहाजमा रहेका सबैलाई सुरक्षित स्थानमा सारिसकिएको छ ।

सार्वजनिक गरिएको एक तस्बिरमा आगो बलिरहेको र पानीजहाजमा भएकाहरुलाइफ ज्याकेट लगाएर सुरक्षित स्थलतर्फ गएको देख्न सकिन्छ । त्यस्तै अर्को तस्बिरमा आगो दन्किरहेको र आकाशमा धुँवाको मुस्लो देख्न सकिन्छ ।

इरानको अर्थसरकारी समाचार संस्था तास्निमलाई स्थानीय एक सैन्य अधिकारले उक्त घटनामा २० जना मानिस सामान्य घाइते भएको बताएका छन् ।

जलसेनाको पानीजहाजमा आलो लाग्नुको कारण प्रस्ट भइसकेको छैन । तर एक जना सैन्य अधिकारीले इन्जिन रुममा आगो सुरु भएको र केही भाग पग्लेर पानीजहाज समुन्द्रमा डुब्न पुगेको बताएको भन्दै अल जजिराले समाचार लेखेको छ ।

इजरायलको जासुसी संस्था मोसादको नयाँ निर्देशकको रुपमा कार्यभार सम्हाल्न लागेका डेभिड बर्नीले इरानविरुद्ध थप हत्या र आक्रमण गर्ने धम्की दिएको केही घण्टापछि जलसेनाको पानीजहाज समुन्द्रमा डुबेको हो ।

मंगलबार बर्नीले इरानका आणविक वैज्ञानिकको हत्या गर्ने, आणविक भट्टी लगायत महत्वपूर्ण स्थानमा आक्रमण गर्ने संकेत गरेका थिए । ‘इरानको आणविक कार्यक्रमले मोसादबाट हुने हमलाको निरन्तर सामना गर्ने छ’, उनले भने, ‘आणविक कार्यक्रमका विभिन्न पक्षलाई हामीले राम्रोसँग चिनेका छौं, यसमा संलग्न वैज्ञानिक र उनीहरुलाई निर्देशन दिने अधिकारीबारे राम्रो जानकारी छ ।’

तर बर्नी र पानीजहाज डुबेको घटनाबीच सम्बन्ध रहेको भनेर हालसम्म कसैले नभनेकोले बुधबार भएको घटनमा इजरायलको हात रहेको भनेर निष्कर्षमा पुग्नु हतार हुनेछ । यद्यपि, यसअघि भएका विभिन्न आक्रमण र हत्यामा इजरायलको हात रहेको इरानले दाबी गर्दै आएको छ । एजेन्सी