कोरोना भाइरसको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिएसँगै विश्वभर भ्याक्सिनको माग अत्यधिक रहेको छ ।
सबै देशले आफ्नो जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाउन चाहन्छन् । तर खोपको कमीका कारण मागअनुसार प्राप्त हुन कठिन छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै चीनले विश्वभर भ्याक्सिन वितरण गर्ने योजना बनाएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार यस महिनाको अन्तिमसम्म विभिन्न देशमा २ अर्ब डोज भ्याक्सिन पुर्याउने बताएका छन् । यद्यपि जिनपिङले भ्याक्सिनको वितरणको बारेमा भने केही खुलाएका छैनन् ।
चीनले कोभ्याक्स सुविधाअन्तर्गत १० करोड डलर बराबरको भ्याक्सिन सहयोग गर्ने बताइएको छ ।
यसभन्दा पहिला अमेरिकी राष्ट्रपति जो बाइडेनले १० करोड डलर बराबरको भ्याक्सिन कोभ्याक्स सुविधाअन्तर्गत सहयोग गर्ने बताएका थिए । आगामी महिनादेखि अमेरिकाले ५० करोड डोज फाइजर भ्याक्सिन गरिब देशमा वितरण गर्नेछ । एजेन्सी