कोरोना महामारीले अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा एकै दिन ७ जनाको मृत्यु भएको छ। कोरोना महामारीले सिड्नीमा एकै दिन यसअघि यतिधेरैको ज्यान गएको थिएन।
संक्रमित र मृतकको संख्या बढेसँगै अर्को शहर मेलबर्नमा लकडाउन दुई साता लम्ब्याउने तयारी भएको छ। इरानमा दैनिक ६ सयभन्दा बढीको मृत्यु हुन थालेको द गार्जियनले जनाएको छ। इरानमा कोरोनाले एकै दिन यतिधेरैको ज्यान गएको पहिलोपटक भएको बताइएको छ।
जापानले राजधानी टोकियोसहित अन्य शहरहरुमा ‘स्टेट अफ इमर्जेन्सी’ बढाउने तायरी गरेको छ। टोकियोमा दैनिक संक्रमितको संख्या बढिरहेको छ। अमेरिकाको टेक्सास फेरी महामारीको जोखिममा पर्न थालेको द गार्जियनले जनाएको छ।
विज्ञहरुले अमेरिकामा दैनिक २ लाख बढी संक्रमित थपिन सक्ने चेतावनी दिएका छन्। इङ्ल्यान्डले अगष्ट २३ तारिखसम्म १६ र १७ वर्ष उमेरका सम्पूर्ण किशोरकिशोरीलाई खोपको पहिलो डोज दिइसक्ने तयारी गरेको छ।
बेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले अफ्रिका र कम आय भएका अन्य देशमा खोप वितरणको मात्रा बढाउन आग्रह गरेका छन्। उनले संयुक्त राष्ट्र संघको साधारण सभाअघि आपतकालिन बैठक बस्न अमेरिका, बेलायत र इटालीलाई आग्रह गरेका छन्।
खोप वितरणमा भइरहेको असमानताले अफ्रिका र कम आय भएका अन्य मुलुकहरुमा नागरिकहरुको ज्यान जोखिममा परिरहेको ब्राउनको भनाइ छ। एजेन्सी