logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा चल्यो गोली


अंकुरण खबर
1.287K
Shares

अफगानिस्तानमा तालिबानको कब्जा भएपछि काबुल एयरपोर्टमा निकै भीड भएको छ । तालिबानको कब्जासँगै देश छाड्ने र आफ्नो देश फर्किने विदेशीहरु लाइनमा लागेका छन् । अहिले काबुल विमानस्थल अमेरिकी सेनाको कब्जामा छ ।

सरकारी फौजसँग तालिबानको युद्ध रोकिए पनि विमानस्थलमा रहेका अमेरिकी फौजविरुद्ध भने तालिबानले हमला गरेको छ । उक्त गोलाबारीमा केही मानिसहरु मारिएको र केही घाइते बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

एक भिडियोमा मानिसहरुको लाश देखिएको छ । साथै विमानस्थलमा हजारौंको संख्यामा मानिसहरु पुगेका छन् । उनीहरुसँग न भिसा नै छ न टिकट नै । काबुलमा रिचार्ज गराउन समेत समस्या आएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अफगानिस्तान कब्जापछि तालिबानले सबै जनधनको सुरक्षा गरिने सन्देश दिइरहेको छ । तर, काबुल विमानस्थलमा भने एक डरलाग्दो खुलासा भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हिजाब नलगाउने कैयौं महिलालाई तालिबानी लडाकूले गोली प्रहार गरेका छन् । तर, यो सूचना भने अहिलेसम्म पुष्टि भएको छैन ।

फायरिङपछि विमानस्थलमा भागदौड मच्चिएको छ । यसको एउटा भिडियो पनि सार्वजनिक भएको छ । तालिबानीको फायरिङपछि अमेरिकी सेनाले पनि जवाफी हमला गरेको छ ।

तालिबानसँग जोडिएको एक सुत्रले भनेको छ, ‘सबै कुुरा निकै तिव्र गतिमा भएको छ । कैयौं इलाकामा तालिबानले आफ्ना लडाका तैनाथ गर्न सकिरहेको छैन । सहरको बाहिरी क्षेत्रमा लुटपाटको खबर पनि आएको छ । यससँग जुध्न तालिबानले हरकोशिस गरिरहेको छ । विमानस्थलको सुरक्षा तालिबानको हातमा छेन । त्यहाँ भएको घटनाको जिम्मेवारी हामी लिन सक्दैनौं ।’

यद्यपि अमेरिकाले काबुल विमानस्थलमा आफ्ना ६ हजार सैनिक तैनाथ गर्ने बताएको छ । विदेशी नागरिकलाई सुरक्षित तरिकाले बाहिर पठाउनेबेलासम्म विमानस्थल अमेरिकी सेनाको कब्जामा रहने बताइएको छ ।

तालिबानले बिहानैदेखि आफ्नो स्वतन्त्रताको उत्सव मनाइरहेको छ । पूरै सहरमा तालिबानी झण्डा देख्न सकिन्छ । सामाजिक सञ्जालमा पनि सक्रिय हुँदै तालिबानी नेताले शान्तिको सन्देश दिने कोशिस गरिरहेका छन् ।

सुत्रका अनुसार तालिबानी नेता मुल्ला बरादर आफ्ना साथीसँग काबुल पुग्ने भएका छन् । अहिलेसम्म उनी कतारमा रहेको बताइएको छ । कतारमा तालिबानले अन्तर्राष्ट्रिय समुदायसँग वार्ताका लागि सम्पर्क कार्यालय खोलेको थियो । बरादरले यति सजिलै अफगानिस्तानमा कब्जा हुने अपेक्षा गरेका थिएनन् । तर, अमेरिकी सेना फिर्ता भएको केही समयमै तालिबानले सत्ता कब्जा गरेको छ ।

तालिबानका प्रवक्ता मोहम्मद नईमले अलजजिरा टेलिभिजनसँग एक अन्तरवार्ता दिएका छन् । त्यसमा उनले भनेका छन्, ‘आज अफगानी जनता र मुजाहिदीनका लागि ऐतिहासिक दिन हो । २० वर्षको बलिदान र संर्षको फल अहिले प्राप्त भएको छ । हामी अल्लाहलाई धन्यवाद दिन्छौं कि यति लामो युद्ध अब सकिएको छ । हामी अब शान्तिपूर्ण तरिकाले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न चाहन्छौं । कसैसँग बदला लिने पनि मनसाय छैन । आफ्नो जमिनमा अन्य कसैको प्रयोग हुन दिन्नौं ।’ एजेन्सी