अफगानिस्तानको राजधानी काबुलमा रहेको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल भित्र वा आसपासको क्षेत्रमा गएको आइतबार यता १२ जनाको ज्यान गएको तालिबानले बताएको छ।
तालिबानका एक अधिकारीले नाम गोप्य राख्ने शर्तमा गोली लागेर वा भागदौडका कारण विमानस्थल र आसपासको क्षेत्रमा उनीहरुको ज्यान गएको समाचार संस्था रोयटर्सलाई बताएका छन्।
ती अफगान अधिकारीले विमानस्थलको गेटमा रहेकाहरु, जोसँग यात्राका लागि चाहिने आवश्यक कागजात छैन उनीहरुलाई घर फर्किन सुझाव दिएका छन्।
तालिबानले कसैलाई पनि दुःख दिन या हानी पुर्याउन नचाहेको उनले बताएका छन्। तालिबानले गएको आइतबार अफगानिस्तानमा नियन्त्रण कायम गरेसँगै त्रासमा रहेका हजारौँ अफगानीहरु विमानस्थल गएका छन्।
काबुल विमानस्थल अहिले पनि अमेरिकाको नियन्त्रणमा छ। तर त्यसआसपासका सडकहरु भने तालिबानले कब्जा गरेको छ।