logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काबुल छोड्ने अफगानीहरुलाई फेसबुकको सहयोग


अंकुरण खबर
715
Shares

तालिवानले राजधानी काबुल कब्जामा लिएपछि काबुल छोड्न चाहने केही अफगानीलाई फेसबुकले सहयोग गरेको खुलासा भएको छ।

फेसबुकले एक सय ५० अफगानीलाई काबुलबाट बाहिरिन सहयोग गरेको हो।

आफ्ना कर्मचारीसँगै केही अफगानी मेक्सिको सिटी उडेको कम्पनीले जनाएको छ। उडानमा ७५ बालबालिका, कार्यकर्ता र स्वतन्त्र पत्रकार तथा उनका परिवार रहेको मेक्सिको सरकारले पुष्टि गरेको छ।

काबुलको पतनपछि बहुराष्ट्रिय कम्पनी र विभिन्न संगठन अफगानिस्तानबाट फर्किएका थिए।

‘फेसबुकका कर्मचारी र नजिकका साथीलाई काबुल छोड्न सहयोग गर्ने क्रममा गम्भीर जोखिममा परेका पत्रकारहरुको एउटा समूह र उनका परिवार पनि थिए,’ फेसबुकका प्रवत्ताले भने। सहयोगमा साथ दिएकोमा फेसबुकले मेक्सिको सरकारलाई धन्यवाद दिएको छ।

मेक्सिको सरकारले बुधबार अफगान नागरिकहरुको एउटा समूह मेक्सिको सिटी पुगेको जनाएको छ। संकटमा परेका उनीहरुलाई मानवीयताको आधारमा आश्रय दिइएको सरकारले जनाएको छ।

दुई साताअघि अफगानिस्तानमा आफ्नो सुरक्षाबारे चिन्तित व्यक्तिका लागि नयाँ सुरक्षा उपाय ल्याएको थियो।

‘संकटमा परेका अफगानीको अकाउन्ट चाँडो बन्द गर्न वान क्लिक टुल सुरु गरेका थियौं। प्रोफाइल लक हुनेवित्तिकै फेसबुकमा साथी नभएका व्यक्तिले उनीहरुका प्रोफाइल तस्बिर डाउनलोड गर्न वा सेयर गर्न सक्दैनथे,’ फेसबुकका सुरक्षा प्रमुख नाथनियल ग्लिचरले भनेका छन्। एजेन्सी