logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तालिबानको अन्तरिम सरकारमा फुट सुरु, उपप्रधानमन्त्री नियुक्त बरादरले छाडे काबुल


अंकुरण खबर
1.56K
Shares

तालिबानका नेताहरुबीच अन्तरिम सरकार गठनको विषयलाई लिएर गम्भिर विवाद देखिएको छ।

विवादकै कारण तालिबानका सहसंस्थापक तथा हालै उपप्रधानमन्त्रीमा नियुक्त भएका मुल्लाह अब्दुल गनी बरदारले राजधानी काबुल छाडेको बीबीसीले जनाएको छ।

बरादर र मन्त्रिपरिषद्का सदस्यहरुबीच राष्ट्रपति निवासमा विवाद भएको बताइएको छ। बरादर यतिबेला कान्दहर प्रान्त गएको तालिबानका अधिकारीहरुले बताएका छन्।

खबरअनुसार बरदार र शरणार्थी मामिलासम्बन्धी मन्त्री खलिल युर रहमान हक्कानीबीच भनाभन भएको थियो। नेताहरुबीच विवाद बढेपछि उनीहरुका कार्यकर्ताले हात हालाहाल गरेका थिए।

यसअघि देशको राष्ट्रपति बन्ने चर्चा चलेका बरादर अन्तरिम सरकारमा उपप्रधानमन्त्री नियुक्त भएपछि उनले सरकार गठनप्रति असन्तुष्ट व्यक्त गर्दै आएका थिए।

अफगानिस्तान विजयको जस कसले लिने भन्ने बारेमा तालिवानमा विवाद सुरु भएको थियो। आफूहरुको कूटनीतिक प्रयासबाट काबुल कब्जा गर्न सफल भएको बरदारले बताएका थिए भने हक्कानी समूहका नेता र उनका समर्थकहरूले लडाइँबाट नै यस्तो सम्भव भएको बताएका थिए।

अमेरिकी राष्ट्रपतिसँग सोझै टेलिफोन संवाद गर्ने बरदार पहिलो अफगानी नेता हुन्। त्यसअघि अफगानिस्तानबाट अमेरिकी सेना फर्किनेसम्बन्धी दोहा सम्झौतामा पनि उनले हस्ताक्षर गरेका थिए।