logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

असान्जको हत्या गर्न चाहन्थ्यो सीआईए, ट्रम्पको पालामा बनेको थियो यस्तो योजना


अंकुरण खबर
702
Shares

ट्रम्प प्रशासनका बेला अमेरिकी खुफिया संस्था सेन्टर इन्टेलिजेन्स एजेन्सी (सीआईए) का अधिकारीहरुले गोप्य रुपमा विकिलिक्सका संस्थापक जुलियन असान्जको अपहरण र परिआए हत्या गर्ने योजना बनाएको खुलासा भएको छ ।

आइतबार प्रकाशित एक रिपोर्टअनुसार विकिलिक्सले सीआईएका संवदेशनशील ह्याकिङ टुल्स अनलाइनमा प्रकाशित गरेपछि उक्त योजना बनेको थियो ।

सन् २०१६ मा विकिलिक्सबाट भएको उक्त कार्यलाई ‘सीआईएको इतिहासमै सबैभन्दा ठूलो तथ्याङ्कीय क्षति’ मानिएको थियो । बदलास्वरुप एजेन्सीका उच्च अधिकारीहरुले असान्जको अहपरण वा हत्यासम्बन्धी योजना तयार गर्न भनेको समाचारमा उल्लेख छ ।

डेली मेलका अनुसार सीआईएका ३० जना पूर्वअधिकारीसँगको अन्तर्वार्तापछि याहु न्युजले तयार पारेको अनुसन्धानात्मक रिपोर्टमा उक्त दाबी गरिएको हो ।

विकिलिक्सले ‘भल्ट(७’ को नाममा सरकारी डकुमेन्ट निरन्तर प्रकाशित गर्न थालेपछि सीआईएका पूर्वनिर्देशक माइक पोम्पिओले सन् २०१७ मा असान्जविरुद्धको अभियानलाई नेतृत्व गरेको रिपोर्टमा भनिएको छ ।

अमेरिकी सरकारले असान्ज इक्वेडरको लण्डनस्थित दूतावासबाट भागेर रुस पुग्न सक्ने सुइको पाएपछि सोही वर्ष नै पोम्पिओको योजना तीव्र पारिएको थियो । यही भएर सीआईएले उनलाई रोक्ने विभिन्न परिदृश्यबारे सोचिरहेको पनि रिपोर्टमा उल्लेख छ ।

एउटा प्रस्तावरयोजनामा यदि असान्जले लण्डनबाट भागेर रुस पुग्ने प्रयास गरे भने उनी चढ्ने जहाजको टायरमा गोली हानेर टायर फुटाइदिने उल्लेख थियो । त्यस्तै अन्य प्रस्तावमा जेम्स बोण्ड फिल्ममा झैं लण्डनको सडकमै गोली ठोक्ने वा उनी चढेको सवारी साधनमा अर्को कार ठोक्याउने लगायतका कार्य गर्ने उल्लेख थियो ।

त्यस्तै अमेरिकी अधिकारीहरुले बेलायतमा रहेका आफ्ना सहयोगीलाई गोली हान्नका लागि अनुरोध गर्ने योजना समेत थियो । सीआईएका एकजना पूर्व अधिकारीले उक्त योजना अनुसार काम गर्न बेलायतीहरु राजी भएको कुरा याहु न्युजलाई बताएका थिए ।

अमेरिकाको कानुन मन्त्रालयले बेलायतबाट असान्जलाई सुपुर्दगी गरेर मुद्दा चलाउनु पर्ने भन्दै छलफल गरिरहेका बेला सीआईएले उनको अपहरण वा हत्या गर्ने योजना बनाएको थियो ।

अमेरिकी सरकार सन् २०१० मा पहिलो पटक विकिलिक्सप्रति रुष्ट बनेको थियो । विकिलिक्सले सीआईएको ह्याकिङ क्षमतासहित अमेरिकी सेना र खुफिया एजेन्सीद्वारा तयार पारिएका गोप्य रिपोर्ट एवम् डकुमेन्ट चुहाएपछि जुलियन असान्ज समेत अमेरिकीहरुको निशाना बन्न पुगेका हुन् ।

त्यसपछि प्रतिक्रियास्वरुप सीआईएका अधिकारीहरुले उनीसँग बदला दिने योजना बुन्न थाले । ट्रम्पको पालामा माइक पोम्पिओको नेतृत्वमा उक्त योजनाले थप उचाइ लिएको थियो । तर असान्जको अपहरण वा हत्या गर्ने पोम्पिओको योजना सफल हुन भने पाएन ।

स्मरणीय छ, सन् २०१२ मा असान्जलाई लण्डनस्थित इक्वेडरको दूताबासले राजनीतिक शरण दिएको थियो । तर सन् २०१९ मा इक्वेडरका अधिकारीसँग विवाद भएपछि उनलाई दिइएको शरण फिर्ता गरियो ।

लगत्तै उनी पक्राउ परे र धरौटीसम्बन्धी कानुन उल्लंघन गरेको अभियोग पुष्टि भएपछि ५० हप्ता काराबास सजाय सुनाइयो । सन् २०१९ को अप्रिलदेखि उनी बेलमार्श जेलमा राखिएको छ ।