logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा एकैदिन थपिए २२ हजार ५ सय बढी कोरोना संक्रमित


अंकुरण खबर
1.3K
Shares

भारतमा थप २२ हजार ५०० भन्दाबढीमा कोरोना संक्रमण भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८४२ जना सङ्क्रमित भएका हुन् ।

शनिबार बिहान सार्वजनिक जानकारीअनुसार एक दिनमा २४ हजार ३५४ जना नयाँ सङ्क्रमित थपिएका थिए । शनिबार भन्दा आइतबार सङ्क्रमितको सङ्ख्या घटेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले  जानकारी दिएको छ । यसअघि दैनिक सङ्क्रमितको सङ्ख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेको जनाइएको छ  ।

सङ्क्रमित र मृत्यु भएका मध्ये धेरै केरला राज्यका रहेका छन् । अन्य क्षेत्रमा महामारी कम हुँदै गएपनि केरलामा भने बढ्दै गएको पाइएको छ ।  हिजो एकै दिनमा केरलामा १३ हजार २१७ जना नयाँ सङ्क्रमित थपिए भने १२१ जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार भारतमा  थप २४४ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना  सङ्क्रमणबाट भारतमा हालसम्म चार लाख ४८ हजार ८१७ व्यक्तिको मृत्यु भएको बताइएको छ  ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ७० हजार ५५७ रहेको  छ । भारतमा पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ । दैनिक सङ्क्रमितको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको हो ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३० लाख ९४ हजार ५२९ रहेको अधिकारीले जनाएका छन् ।