logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाकिस्तानमा एक महिलाले एकैपटक सात सन्तानलाई जन्म दिइन्


अंकुरण खबर
2.314K
Shares

पाकिस्तानको पख्तुनख्वाको एबटावाद सहरमा एक महिलाले एकैपटक सात बच्चा जन्माएकी छिन्।

बीबीसीका अनुसार ऐबटाबादको जिन्ना इन्टरनेशनल अस्पतालमा एक महिलाले एकैपटक चार छोरा र तीन छोरीलाई जन्म दिएकी हुन्।

अस्पतालले दिएको जानकारीअनुसार सबै बच्चा र आमाको अवस्था स्थिर छ। पिता बनेका यार मोहम्मदले सात सन्तान एकैपटक प्राप्त भएकोमा खुसी व्यक्त गरे। यसअघि नै उनका दुई छोरी छन्।

उनी भन्छन्, ‘यी सन्तानको पालनपोषण गर्न मलाई गाह्रो छैन किनकी म एक संयुक्त परिवारमा बस्छु र यहाँ परिवारका सबै सदस्यले मेरो सहयोग गर्नेछन्।’

अस्पतालकी डाक्टर हिना फेयाजका अनुसार जाँचबाट महिलाको पेटमा कम्तीमा पाँच बच्चा रहेको थाहा भएको थियो। साथै महिलाको रक्तचाप पनि उच्च थियो। यस्तोमा शल्यक्रियाबाटै बच्चा जन्माउनु उचित हुन्थ्यो। उनकाअनुसार शल्यक्रिया करिब एक घण्टासम्म चलेको थियो।

उनका अनुसार सात बच्चा र आमा सुरक्षित र स्वस्थ हुने घटना भने निकै कम हुन्छ। अहिले सातवटै बच्चालाई नर्सरीमा र आमालाई आईसीयू वार्डमा सारिएको छ। समय हुनुभन्दा पहिला नै बच्चालाई निकालिएकाले अब केही दिन उनीहरुलाई नर्सरीमा राख्नुपर्ने हुनसक्ने डाक्टरहरुले बताएका छन्।

डाक्टर फेयाजकाअनुसार महिलाले गर्भाधारण हुने औषधि लिएकी थिइन्। त्यसैले एकभन्दा धेरै बच्चा बसेका हुन्। उनले यस्ता औषधि खाँदा विशेषज्ञ डाक्टरको परामर्श अनिवार्य लिन सुझाएकी छिन्। एकभन्दा धेरै बच्चा बस्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउनसक्छ।