अन्तर्राष्ट्रिय

एपल: चीनमा सञ्चालन हुने अन्तिम विशाल अमेरिकी प्रविधि कम्पनी बन्ला

एउटा समय थियो फेसबुक सहित अमेरिकाका विशाल प्रविधि कम्पनीहरू चीनमा सञ्चालन हुन्थे। अहिले एपलको व्यापक उपस्थिति मात्रै देखिने गरी बढ्दो क्रममा छ।

चीनमा अझैसम्म सञ्चालन भइरहेको माइक्रोसफ्टले गत साता आफ्नो सामाजिक सञ्जाल लिङ्क्डइन यो देशमा बन्द गर्ने घोषणा गर्‍यो।

चिनियाँ नियमहरूसँग बाँधिएर काम गर्न थप चुनौतीपूर्ण बन्दै गएको कारण देखाउँदै उसले चीनमा सञ्चालन नहुने निर्णय लिएको जनाएको छ।

एपलले पनि चीनमा पूर्व प्रतिबन्धका समस्याहरू खेपिरहेको छ।

बीसीसीले हालै मात्र एपलले एउटा लोकप्रिय धार्मिक एप उसको एप स्टोरबाट हटाएको समाचार प्रकाशित गरेको थियो। त्यस लगत्तै अमेजनको अडिबल र याहुको फाइनान्स एप पनि चीनमा नचल्ने बनाइएका थिए।

एप स्टोरको निगरानी गर्ने समूह एपल सेन्सरसीपले यो महिना चीनमा धेरै एपहरू हटाइएको देखिएको जनाएको छ।

खासमा के भइरहेको छ त ?

ठूलो प्रविधि नियन्त्रण

बेइजिङका बन्द ढोकाहरूभित्र के भइरहेको छ भनेर पहिल्याउन निकै कठिन छ।

तर के कुरा चाहिँ स्पष्ट छ भने एपल र माइक्रोसफ्ट चिनियाँ अधिकारी र प्रविधि उद्योगबीचको घरेलु लडाइँमा फसेका छन्।

अहिले चीनसँग आफ्नै विशाल प्रविधि कम्पनीहरू छन्। टेन्सेन्ट, अलिबाबा, ह्वावेइ जस्ता कम्पनी विश्वमै शक्तिशाली मध्येमा पर्छन्।

तर चिनियाँ सरकार उनीहरूसँग भएको शक्तिमा चिन्तित देखिएको छ।

गत एप्रिलमा एउटा अनुसन्धानमा अलिबाबाले आफ्नो प्रमुख बजारको स्थान दुरुपयोग गरेको पाइएपछि उसले २.८ अर्ब जरिवाना स्वीकार गर्‍यो।

पुन: अगस्टमा चीन सरकारले प्रविधि कम्पनीहरूलाई कडाइ गर्दै आफ्नो पाँच वर्षे रणनीति सार्वजनिक गर्‍यो।

चीनले बिटकोइनलाई पनि नियन्त्रण गरिरहेको छ। अमेरिकी कम्पनीहरू पनि चीनको व्यापक प्रविधि नियन्त्रणबाट अछुतो छैनन्।

“नियन्त्रणले देखाउँछ कि एपल र माइक्रोसफ्ट दुवै पछिल्ला वर्षहरूमा भन्दा आफ्नो स्थिति कमजोर हुँदै गएकोमा धेरै जानकार छन्। उनीहरूलाई थाहा छ अब निकै होसियारी पूर्वक अघि बढ्नुपर्छ,” ग्रेट फायरवाल अफ चाइनाका लेखक जेम्स ग्रिफिथ्स भन्छन्।

माइक्रोसफ्टका लागि नोभेम्बरबाट लागु हुन लागेको व्यक्तिगत जानकारी संरक्षण बारे कानुन थप कठिन हुने ठानिएको छ। जसले उसलाई धेरै नियमहरू मान्न बाध्य बनाउनेछ।

लिङ्क्डइन बन्द गर्ने आफ्नो निर्णयमा पनि माइक्रोसफ्टले यसको सङ्केत गरेको छ, “हामीले सञ्चालनका लागि धेरै नै चुनौतीपूर्ण वातावरण र बृहत् नियमहरू मान्नुपर्ने बाध्यताहरू खेपिरहेका छौँ।”

स्यानफोर्ड विश्वविद्यालय स्थित डिजी चाइना परियोजनाका प्रधान सम्पादक ग्राहम वेबस्टर भन्छन् “उनीहरूले जे निर्णय लिए त्यो त्यसका लागि लायक थिएन।”

उनका अनुसार लिङ्क्डइन लाई बिदाइ गर्ने निर्णय व्यक्तिगत जानकारी संरक्षण कानुन लागु गर्ने सङ्केत हो।

अप्ठ्यारो सौदा

एपलको भने चीनमा माइक्रोसफ्टको भन्दा फरक प्राथमिकताहरू छन्। उ अरू अमेरिकी प्रविधि कम्पनीहरूको तुलनामा चीनमा धेरै नै अल्झिएको छ।

पछिल्लो त्रैमासिकमा मात्रै एपलले चीन र ताइवानमा मात्रै १५ अर्ब अमेरिकी डलर राजश्व उठाएको छ। जुन आफैँमा असाधारण आँकडा हो।

उसको विश्वव्यापी आपूर्ति शृङ्खला पनि चिनियाँ निर्मातामा भर पर्छ। र एपललाई यो थाहा छ कि चीनमा रहिरहन देशको नियमहरूसँग खेल्नुपर्छ चाहे त्यो पूर्व प्रतिबन्धहरू नै किन नहोस्।

तपाईँलाई लाग्न सक्छ एपलले किन चीनमा एप स्टोर बिर्सेर हार्डवेयरहरू मात्रै बेच्दैन। तर एपललाई समस्या थाहा छ की एप स्टोर र आई फोनहरू छुट्टाउन नसकिने कुरा हुन्। उ आई फोनमा एप स्टोर बाहिरबाट एपहरू हाल्न दिइने नजिर राख्न चाहँदैन।

यही एउटा कुराको लागि उ आफ्नो आम्दानी घटाउन चाहँदैन।

यस कारण एपलले चीनमा आफ्ना उत्पादनहरू बेच्नको लागि त्यो देशमा एप स्टोर पनि सञ्चालनमा राखिरहन आवश्यक छ।

“एपलले वर्षौँदेखि नै एपहरू हटाउने र अनेक तरिकाबाट एप स्टोरमा पूर्व प्रतिबन्ध लगाउँदै आइरहेकै छ,” वेबस्टर भन्छन्।

ग्रिफिथ्सको तर्क छ एपलको समयमा पूर्व प्रतिबन्धहरू थप कडा हुँदै गइरहेका छन्।

“एपल आफैँले यहाँ सैतानको सौदा गरिरहेको छ,” उनी भन्छन्।

“एक पटक तपाईँ कुनै एप हटाउन सहमत हुनुभयो भने फेरि कहिल्यै रोक्न सकिँदैन।”

गोप्य रणनीति

यही कुरा अरू कम्पनीहरूले माइक्रोसफ्ट भन्दा पहिल्यै देखिसकेका थिए।

गुगलले चिनियाँ ह्याकरहरूको आक्रमणको कारण देखाउँदै सन् २०१० मै आफ्नो खोजी गर्ने यन्त्र ‘गुगल सर्च’ चीनबाट हटायो। उसले गुगलमा हुने खोजीहरूमा पूर्व प्रतिबन्ध लगाउँदा आफू खुसी हुन नसकेको बताएको थियो।

सिलिकन ड्रागन्सकी लेखिका रेबेका फानिन लिङ्क्डइन बन्द गर्ने माइक्रोसफ्ट निर्णयले एपल ठूलो निशानामा पर्ने बताउँछिन्।

तर उनका अनुसार एपल चीनमा रही रहनको लागि थप सङ्घर्ष गर्न तयार छ।

“तपाईँलाई थाहै छ एपलले चिनियाँ बजारमा अझै पनि नेतृत्व गरिरहेको छ। म यस्ता कुनै मामिलाका कारण एपल चीनबाट कहिल्यै फिर्ता हुने देख्दिनँ,” उनी भन्छिन्।

बन्द ढोकाभित्र एपल र चिनियाँ अधिकारीहरूबीच चलिरहने कुराकानीहरू हामीलाई पनि थाहा हुँदैन।

एपलले प्रयासहरू पनि गर्न सक्छ र कतिपय एपहरू एपलको अडानकै कारण चीनमा एप स्टोरमा अझै पनि उपलब्ध छन्। जुन हामीलाई पनि थाहा हुँदैन।

यस्ता समाचारहरूमा एपलले विरलै प्रतिक्रिया जनाउने गरेको छ र पत्रकारहरूलाई उसको मानव अधिकार नीति देखाउने गरेको छ।

जहाँ उसले आफू सञ्चालन हुने देशको कानुनमा असहमति भए पनि त्यस्तो कानुन पालना गर्ने उल्लेख छ। र चीनमा उनीहरूले ठीक यही गरिरहेका छन्।

जब अधिकारीहरूले साँच्चिकै कुनै एप हटाउन चाहन्छन् उसले हटाइदिन्छ।

एपलको चीनमा उपस्थिति अर्को युगबाट निरन्तरता जस्तो लाग्न थालिसकेको छ। ठूला प्रविधि कम्पनीहरूको अब चीनमा खासै उपस्थिति छैन।

तीनको प्रश्न छ- कति धेरै नियमन, कति कुरा पालना गर्नुपर्ने र कति धेरै पूर्व प्रतिबन्ध यो त अति भयो। बीसीसी

Comment here