logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

जापानकी राजकुमारीद्वारा सर्वसाधारण युवकसँग विवाह


अंकुरण खबर
910
Shares

जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग विवाह गरेकी छन् ।

विवादका बीच उनले आज मङ्गलवार सामान्य प्रक्रिया अपनाएर विवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् । त्यसअघि उनले आफ्ना बुबा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर बिदाइ अभिवादन गरेकी थिइन् भने आफ्नी बहिनीलाई अँगालो हालेकी थिइन् ।

जापानको शाही परिवारसम्बन्धी नियमअनुसार उनले सर्वसाधारणसँग बिहे गरेसँगै उनको राजकीय पद पनि गुमेको छ । विश्वविद्यालयमा सँगै पढेका साथीसँग सुरु भएको राजकुमारी माकोको प्रेम सम्बन्ध आजदेखि वैवाहिक सम्बन्धमा रूपान्तरण भएको हो । उनीहरूको मगनी गएको सन् २०१७ मा भए पनि विवाहको मिति तय भएको थिएन ।

जापानका राजा नारुहितोकी ३० वर्षीया भतिजी माकोले उही उमेरका केइ कोमुरोसँग विवाह गरेकी हुन् । उनका पति अमेरिकामा रहेको एउटा ल फर्ममा काम गर्दै आएका छन् । विवाहपछि राजकुमारी माको पनि अमेरिका जाने भएकी छन् । उनीहरूको विवाहमा राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि अवलम्बन गरिएको छैन भने उनले राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि त्याग गरेकी छन् ।

यी दुवै कुरा परित्याग गर्ने उनी जापानको राजपरिवारकी प्रथम महिला सदस्य भएको बताइएको छ । राजपरिवारकी सदस्यले सर्वसाधारणसँग विवाह गर्न लागेको भन्दै उनीहरूको विवाहका बारेमा टिकाटिप्पणी हुदै आएको थियो । विरोधकाबीच पनि शाही पदवीसमेत गुमाएर राजकुमारी माकोले सर्वसाधारण एक युवासँग विवाह गरेको विषय विश्वभरि भने सकारात्मक चर्चाको विषय भएको छ ।