सेना नियन्त्रित म्यानमारको अदालतद्वारा ११ वर्षको जेल सजाय सुनाइएका अमेरिकी पत्रकार ड्यानी फेन्स्टर ३ दिनमै रिहा भएका छन्।
फ्रन्टियर म्यान्मारको लागि काम गर्ने अमेरिकी पत्रकार फेन्सटरलाई गत मे महिनामा अमेरिका जान अगाडि हिरासतमा लिइएको थियो। तर ११ वर्षको जेल सजाय सुनाइएका उनी जेल सजाय सुनाइएको तेस्रो दिन नै रिहा भएको बीबीसीले जनाएको छ।
उनीमाथि आप्रवासन नियमको उल्लंघन, गैर कानूनी सम्पर्क र सेनाविरुद्ध मानिसलाई भड्काउने काममा लागेको आरोप लागेको थियो। उनी दोषी सावित भएका थिए।
गतहप्ता त सेनाले उनीमाथि राजद्रोह र आतंकवादको मुद्दा पनि लगाएको थियो। उनलाई अधिकतम सजाय जीवनभर जेल सजाय हुन सक्थ्यो।
फेन्सटरलाई अचानक रिहा गरिनुको कुनै कारण खुलाइएको छैन। तर शक्तिराष्ट्र अमेरिकाको दबाबका कारण सेनाले उनलाई रिहा गरेको अनुमान गरिएको छ।