अमेरिकाको शीर्ष सैन्य संस्था जोइन्ट चीफ्स अफ स्टाफका उपाध्यक्ष जनरल जोन हाइटनले चीनको हाइपरसोनिक स्पेस हतियार अमेरिकाविरुद्ध आकस्मिक आक्रमणका लागि प्रयोग गरिन सकिने चेतावनी दिएका छन् ।
बेइजिङसँग अत्याधुनिक हाइपरसोनिक प्रविधि रहेको पनि उनले स्वीकार गरे ।
गत जुलाई महिनामा चीनले ध्वनिको भन्दा पाँच गुणा बढी गतिमा क्षेप्यास्त्र पृथ्वीमा परिक्रमा गराएको थियो ।
हाइटनले भने, ‘उनीहरूले लामो दूरीको क्षेप्यास्त्र प्रहार गरे । त्यो संसारभरि घुम्यो र त्यसले हाइपरसोनिक ग्लाइड भेहिकल झार्यो जुन चीनसम्म पुग्यो । त्यो चीनको एक ठाउँमा ठोकियो ।’
उक्त हतियार निर्धारित लक्ष्य नजिक पुगेको उनले बताए । त्यसलाई हाइटनले स्पुतनिक क्षणसँग तुलना गरे । सन् १९५७ मा रुसले अन्तरिक्षमा पठाएको पहिलो कृत्रिम भूउपग्रहले अमेरिकालाई आश्चर्यचकित बनाएको थियो ।
चीनको नयाँ हतियारले पनि अमेरिकी अधिकारीहरूलाई आश्चर्यमा पारेको छ किनकि उक्त हतियारले भौतिकशास्त्रको नियमलाई तोडेको छ । अमेरिकाको कुनै पनि हतियारभन्दा त्यो उत्कृष्ट छ ।
हाइटनले चीनको यो हतियार पहिले प्रयोग गर्न मिल्ने बताए । चीनले कुनै दिन अमेरिकामाथि एक्कासि आणविक आक्रमण गर्न यसको उपयोग गर्ने हाइटनको विश्वास छ । चीनले आणविक हतियार पहिले आफैंले आक्रमणका लागि प्रयोग नगर्ने नीति लिएको छ । एजेन्सी