कोभिड-१९ को नयाँ फेला परेको ‘ओम्रिक्रोन’ भेरिएन्टका कारण जापानले विदेशीहरूलाइ प्रवेशमा रोक लगाएको छ ।
उक्त भेरियन्ट विश्वभर फैलन थालेसँगै जापानले भोलि मंगलबारदेखि लागू हुने गरी सबै विदेशी उडानहरुलाई अनिश्चितकालको लागि प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।
जापानका प्रधामन्त्री फुमियो किसिदाले उक्त भेरियन्टबारे थप जानकारी प्राप्त नभएसम्म प्रतिबन्धको घोषणा गरेका हुन् । उनले भनेका छन्- ‘यसका कारण खराब अवस्था आउन नदिन हामीले आपतकालीन निर्णय गरेका छौं ।’
लामो समय कोरोना भाइरसकै कारण विदेशीमाथि कडाइ गरेको जापानले एक महिना पहिले मात्रै विद्यार्थी, कामदार र पर्यटकका लागि भिसा खुला गर्ने निर्णय गरेको थियो । तर नयाँ भेरिएन्ट फैलन थालेपछि पुनः जापानले उडानमाथि कडाइ गर्ने निर्णय लिएको हो ।