logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१२ दिनपछि पृथ्वी फर्किएका जापानी अर्बपति भन्छन्ः अन्तरिक्षमा पिसाब फेर्न साह्रै सजिलो


अंकुरण खबर
2.067K
Shares

१२ दिनसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा बिताएपछि जापानका अर्बपति युसाकु मेजावा पृथ्वी फर्किएका छन्।

मेजावासँगै रुसी वैज्ञानिक एलेक्जान्डर मिसुरकिन र भिडिओग्राफर योजो हिराना पृथ्वी फर्किएका छन्। अन्तरिक्षमा हुँदा मेजावाले दाँत माझ्ने र बाथरुमको प्रयोग गरेका थिए।

युट्युबमा आफ्ना १० लाख फलोअर्सलाई सम्बोधन गर्दै ४६ वर्षीय मेजावाले अन्तरिक्षमा दाँत कसरी माझ्ने र बाथरुममा जाने बारेमा बताएका छन्। एउटा भिडियोमा अन्तरिक्ष स्टेसनमा रहँदा आफूले शान्तिको सास फेरको बताएका छन्।

अन्तरिक्षमा पिसाब फेर्न सहज भएको उनले बताएका छन् । ‘अन्तरिक्षमा पिसाब फेर्न निकै सजिलो छ,’ सोली आकारको एउटा भाँडोलाई देखाउँदै उनले भने।

अर्को एउटा भिडियोमा मेजावाले चिया कसरी पिउने र जिरो गुरुत्वाकर्षणमा कसरी सुत्ने भन्ने बारेमा फलोअर्सहरुलाई देखाएका छन्।

अन्तरिक्षमा उनले गल्फ खेल्ने, कागजको प्लेन उडाउने, चुइगंम फुक्नेजस्ता अनौठा कार्य गर्नेछन्। अन्तरिक्षमा विभिन्न काम गर्न उनलाई १०० भन्दाबढी सुझाव दिइएको थियो।

मेजावा आफ्नो अनौठो सोख बोकेर १२ दिनअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन प्रस्थान गरेका थिए।

कुनै बेला एउटा रक संगीत टोलीका ड्रमर रहेका मेजावाले यसअघि यसअघि प्रेमिकाको खोजी गर्ने एउटा कार्यक्रम अन्तरिक्षमा तय गरेका थिए। तर, पछि कार्यक्रम रद्द गरेका थिए।

मेजावा जापानका ३०औँ धनाढ्य हुन्। उनीसँग करिव दुई खर्ब अमेरिकी डलरबराबर सम्पत्ति छ। यसअघि अमेरिकी अर्बपति जेफ बेजोस र ब्रिटिशका धनाढ्य रिचार्ड ब्रान्सन अन्तरिक्ष यात्रामा गएका थिए।

यात्राअघि मेजावालले घुमिरहेको मेचमा बस्ने, खाटमा सुत्ने र ब्याडमिन्टन खेल्ने तालिम लिएका थिए। ती सबै तालिमको भिडियो उनले आफ्नै युट्युवमा अपलोड गरेका थिए। एजेन्सी