logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ग्लोबल रिस्क रिपोर्ट २०२२ :  नेपालका लागि यी हुन् सबैभन्दा ठूला पाँच खतरा


अंकुरण खबर
1.157K
Shares

विश्वमा पर्यावरणसँग जोडिएका जलवायु परिवर्तन, मौसममा चरम परिवर्तन र जैविक विविधताको नोक्सानी सबैभन्दा ठूला खतरा औँल्याइएको छ ।

नेपालमा पनि पछिल्लो समय जलवायु परिवर्तनका मुद्दा जटिल बन्दै गएको छ । हालको अवस्थामा त कोभिड-१९ सबैभन्दा ठूलो चुनौती बनेर खडा भएको  छ ।

तर, वर्ल्ड इकोनमिक फोरम (डब्लूईएफ)  द्वारा जारी ‘ग्लोबल रिस्क रिपोर्ट २०२२’ अनुसार नेपालमा सबैभन्दा ठूलो खतरा रोजगारी र जिविकोपार्जनमा संकट रहेको छ ।

डब्लूईएफद्वारा जारी रिपोर्टअनुसार नेपालमा बेरोजगारीको समस्या बढ्दै गएको छ । त्यसपछि दोस्रो ठूलो खतराको रुपमा मानवका कारण पर्यावरणमा क्षति रहेको छ । प्राकृतिक स्रोतको बढ्दो दोहनका कारण नेपालमा पर्यावरणमा क्षति बढ्दै गएको हो ।

तेस्रो ठूलो खतरामा भूराजनीतिकीकरण रणनीतिक स्रोतलाई लिइएको छ भने चौथोमा संक्रामक रोगको संक्रमण खतरा रहेको छ । नेपालमा कोभिड(१९ मात्र होइन विभिन्न खाले संक्रामक रोगको प्रकोप बेलाबेला फैलने गरेको छ ।

पाँचौ नम्बरमा डिजिटल असमानता र लामो समयसम्म स्थिर अर्थतन्त्रलाई राखिएको छ । प्रविधिको क्रान्तिसँगै डिजिटल प्रयोग बढे पनि गाउँघर तथा विपन्न नागरिक डिजिटल सेवाबाट टाढै छन् । जसकारण डिजिटल सेवाका कारण धनि र गरिबबीचको खाडल झन बढ्ने आँकलन गरिएको हो । नेपालमा आर्थिक विकासले गति नसमात्दा स्थिर छ । कुल जनसंख्याको झन्डै आधा जनशक्ति श्रमशक्ति रहे पनि विकासले फडको मार्न नसक्दा समस्या बढेको हो ।

वर्ल्ड इकोनामिक फोरम (डब्लूईएफ)ले हरेक वर्ष ग्लोबल रिस्क रिपोर्ट जारी गर्छ । जसमा विश्वसामु  सबैभन्दा ठूला खतरा पहिचान गरिएको हुन्छ जसलाई पाँच श्रेणीमा विभाजन गरिन्छ । जसमा पर्यावरण, सामाजिक, आर्थिक संकट, जियो(पोलिटिक्स र अन्य विषय समावेश गरिएको हुन्छ ।

यो वर्ष ‘ग्लोबल रिस्क रिपोर्ट २०२२’, मा १२४ देशका  १२ हजारभन्दा बढी दिग्गजका धारणा पनि समावेश गरिएको छ। त्यसबाहेक सर्वे पनि गरिएको छ ।