logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अस्पतालद्वारा अभिनेता मोर्गनको तस्बिर दुरुपयोग


अंकुरण खबर
1.014K
Shares

भारतको केरलास्थित एक निजी अस्पतालले हलिउडका प्रख्यात अश्वेत अभिनेता मोर्गन फ्रिमेनको तस्बिर दुरुपयोग गरेको छ ।

अस्पतालले आफ्नो छालाको उपचारसम्बन्धी विज्ञापनमा अभिनेताको तस्बिर राखेर दुरुपयोग गरेको हो । मोर्गन ओस्कार अवार्ड विजेता अभिनेता हुन् ।

मोर्गनको तस्बिरसहितको विज्ञापन सामाजिक सञ्जालमा अस्पतालले राखेपछि त्यसको चौतर्फी विरोध भएको छ । विरोधपछि अस्प्तालले तस्बिर प्रयोग गरेकोमा माफी मागेको छ ।

ट्वीटर प्रयोगकर्ता रेजिमोन कुट्टप्पनले अस्पतालको विज्ञापनको तस्बिर आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलमा सेयर गरेका छन्। तस्बिर सेयरसँगै उनले मोर्गनलाई ट्याग पनि गरेका छन् । ‘सर मोगर्न फ्रिमेन तपाईंको तस्बिर भारतको केरालामा एक अस्पतालका डर्मेटोलोजी डिपार्टमेन्टले आफ्नो विज्ञापनका लागि प्रयोग गरेका छन्। यो तस्बिरसँगै उसले उपचारमार्फत छालाका सम्पूर्ण समस्या समाधान गर्ने भनेको छ’, उनले लेखेका छन्।

रेजिमोनले यो सूचना ट्वीटरमा राखेपछि चौतर्फी आलोचना भएको थियो । त्यसपछि वडकरा कोपरेटिभ अस्पतालले आफ्नो विज्ञापनमा मोर्गनको तस्बिर प्रयोग गरेकोमा माफी मागेको छ । ‘एक डर्मोटोलोजी हालै हाम्रो विभागमा जोडिएको हो । हाम्रो अस्पतालमा छालाको उपचार पनि गरिन्छ भन्नका लागि मोर्गनको तस्बिर राखेर विज्ञापन गरिएको थियो । त्यसका लागि छुट्टै विज्ञापन बोर्ड बनाइएको थियो’, अस्पतालका मार्केटिङ हेड टी सुनिलले भनेका छन् ।

सुनिलले विज्ञापनलाई एक स्थानीय डिजाइनरले बनाएको र जानकारीको अभाव र गम्भीरतालाई नबुझेका कारण ओपिडीको अगाडि लापरबाही ढंगले विज्ञापन राखिएको दाबी गरे । तर, एक व्यक्तिले विज्ञापनमा नेल्सन मण्डेलाको तस्बिर किन राखेको भनेपछि अस्पताल प्रशासनले शनिबारबाट माफी माग्दै विज्ञापन हटाएको छ ।