logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारत: आसाममा फेला परेका ढुङ्गाका ‘रहस्यमय’ विशाल घ्याम्पाहरू


अंकुरण खबर
1.092K
Shares

अनुसन्धानकर्ताहरूले भारतमा ‘रहस्यमयी’ विशाल घ्याम्पोहरू फेला पारेका छन् जुन प्राचीन समयमा अन्तिम संस्कार गतिविधिमा प्रयोग भएको हुनसक्ने ठानिएको छ।

ती ६५ वटा घ्याम्पोहरू उत्तर पूर्वी राज्य आसामका विभिन्न चार वटा स्थानमा छरिएर रहेको अवस्थामा पाइएका थिए।

तिनको आकार र स्वरूप फरक-फरक छ। केही घ्याम्पो अग्ला र बेलनाकार छन् भने केही आंशिक वा पूर्ण रूपमा जमिनमुनि गाडिएका छन्।

यस्तै खालका ढुङ्गाका भाँडा विगतमा लाओस् र इन्डोनेशियामा फेला परेका थिए।

भारत र अस्ट्रेलियाका तीन वटा विश्वविद्यालयका अनुसन्धानकर्ताले मिलेर गरेको खोजको विस्तृत विवरण द जर्नल अफ एशियन आर्कियोलोजीमा प्रकाशित भएको छ।

नर्थ इस्टर्न हिल युनिभर्सिटीका तिलोक ठाकुरिया र गुहाटी विश्वविद्यालयका उत्तम बहारीको नेतृत्वमा यो अनुसन्धान सम्पन्न गरिएको थियो।

“हामीलाई यी विशाल घ्याम्पोहरू कसले बनाए वा कहाँ बस्थे अझै पनि थाहा भइसकेको छैन। यो अझै पनि रहस्यकै विषय हो,” अस्ट्रेलियन न्याश्नल युनिभर्सिटीका अनुसन्धानकर्ता निकोलस स्कोपालले भने।

ती ठूला घ्याम्पोहरू केका लागि प्रयोग गरिन्थे त्यो प्रस्ट छैन तर अनुसन्धानकर्ताहरूले “ती सम्भवतः मृत्यु संस्कारका गतिविधिसँग जोडिएको हुनसक्ने” बताएका छन्।

“नागा मानिसहरूका किंवदन्तीमा असामका जारहरूमा अन्तिम संस्कारका अवशेषहरू र कतिपय अरू पुरातात्त्विक सामाग्रीहरूले भरिएको फेला परेको भनिएको छ,” स्कोपालले भने।

डा. ठकुरियाले अहिले “ती घ्याम्पोभित्र केही नरहेको र सम्भवतः कुनै समयमा तिनको मुख ढाकिएको” बताए।

जार

यो परियोजनाअन्तर्गत अब ती घ्याम्पोहरू उत्खनन गरिने र तिनका विशेषताबारे विस्तृत रूपमा विवरण राखिने उनले सुनाएका छन्।

विगतमा त्यस्तै खालका स्थानहरू आसाम र छिमेकी मेघालय राज्यहरूमा फेला परेका अनुसन्धानकर्ताहरूले जनाएका छन्।

ठाकुरियाका अनुसार ७०० भन्दा बढी घ्याम्पो रहेका करिब १० वटा स्थान आसाममा हालसम्म फेला परेका छन्।

अनुसन्धानकर्ताहरूले यी घ्याम्पोहरू ईसापूर्व ४०० अघिका रहेको जनाएका छन्।

उनीहरूले आसामका सीमित क्षेत्रमा खोज गरिएको र “अरू त्यस्ता क्षेत्रहरू हुनसक्ने तर तिनीहरू रहेको स्थान अझै थाहा नभइसकेको” बताए।

स्कोपालले भने, “हामीले फेला पार्न जति समय लगाउँछौँ त्यति नै ती नष्ट हुने सम्भावना रहन्छ किनभने त्यस क्षेत्रमा बाली लगाउने गरिन्छ र जङ्गलहरू फडानी गर्ने गरिएको छ।”

लाओसमा त्यस्ता घ्याम्पोहरू सन् २०१६ मा फेला परेका थिए र ती दुई हजार वर्ष पुराना भएका विश्वास गरिएको छ।

“लाओस् र आसाममा फेला परेका घ्याम्पोहरूको आकार र आकृति मिल्दोजुल्दो छ। तर पनि केही फरकपन छ। आसामका घ्याम्पोहरू लगभग गोलो छन् भने लाओसका बेलनाकार छन्,” स्कोपालले भने।

बीबीसीको सहयोगमा