रुसले युक्रेनमा भौतिक रुपमा आक्रमण गरेको तेस्रो महिनामा प्रवेश गरेको छ ।
दुवै देशका हजारौं सेनाहरु मारिएका छन्। यद्यपी युद्ध रोकिने छाँटकाँट देखिएको छैन ।
यस क्रममा रुसले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई तानाशाह एडोल्फ हिट्लरसँग तुलना गरेको छ ।
रुसी विदेशमन्त्री सर्गी लाभरोभले युक्रेनका राष्ट्रपति जेलेन्स्की नाजी हिट्लरजस्तै भएको बताएपछि विवाद थप चुलिएको छ ।
हिट्लर यहुदी पृष्ठभूमिको भएको र जेलेन्स्की पनि यहुदी भएकाले उनीहरुमा एकै खालको रगत भएको लाभरोभको टिप्पणी थियो ।
लाभरोभको यस भनाइपछि विश्वभरका सामाजिक संजाल प्रयोगकर्ताले जेलेन्स्की नभएर रुसका राष्ट्रपति भ्लादमिर पुटिन चाहीँ हिट्लरजस्तो भएको बताइरहेका छन् ।
इजरायल, अमेरिका र युक्रेनले पनि रुसका विदेशमन्त्रीको भनाइको विरोध गरेका छन् । इजरायलका विदेशमन्त्री यायर लापिडका अनुसार लाभरोभको टिप्पणी अपमानजनक र अक्षम्य छ । लाभरोभले भयानक रुपमा ऐतिहासिक गल्ती गरेको पनि उनको भनाइ छ ।
अमेरिकाले पनि लाभरोभको विरोध जनाउँदै उनको टिप्पणी यहुदीमाथि घृणा पैदा गर्ने खालएको भएको बताएको छ । एजेन्सी