रुसको विजय दिवसको परेडले जेसुकैको प्रतिनिधित्व गर्ने भए पनि कुनै पनि किसिमबाट त्यो युक्रेनमाथिको विजय नहुने रक्षा विश्लेषक माइकल क्लार्कको दृष्टिकोण छ।
उनको दृष्टिकोण तलको आलेखमा:
राष्ट्रपति भ्लादिमिर पुटिन र क्रेमलिनले घुमाउरो रूपमा जतिसुकै प्रयास गरे पनि यो युद्धमा रुस कुनै पनि तरिकाबाट विजयी हुने छैन।
सन् २००८ पछि पुटिनले विशेष प्राथमिकताप्राप्त सैन्य बल, भाडाका सैनिक, स्थानीय मिलिसिया समूह र सँगसँगै रुसी हवाई फौजको प्रयोगबाट विश्वभर वैदेशिक सैन्य सफलता हासिल गरेका हुन्।
त्यसले मस्कोलाई जोर्जिया, नगोर्नो काराबाख, सिरिया, लिबिया, माली, र सन् २०१४ यता युक्रेनमा दुई पटक हस्तक्षेप गर्दा कम खर्चमा उद्देश्य पूर्तिका लागि महत्त्वपूर्ण शक्ति प्रदान गर्यो। सन् २०१४ मा रुसले पहिला गैर कानुनी रूपमा क्राइमिया गाभेर र त्यसपछि लुहान्स्क र डोनेत्स्क क्षेत्रमा टुक्रिएका स्वघोषित राज्य बनायो।
यी सबै हस्तक्षेप गर्दा रुस तीव्र र निर्दयी रूपमा अघि बढ्दै गयो र पश्चिमा देशले रुसविरुद्ध प्रतिबन्ध लगाउनुबाहेक वास्तविकता उल्ट्याउन अरू केही गर्न सकेनन्।
पुटिन भने “मैदानमा नयाँ तथ्य सिर्जना गर्न” सिपालु रहे।
फेब्रुअरीमा उनले युक्रेनमा सम्भव भएसम्म ठूलो स्तरमा त्यही प्रयास गरे। ४ करोड ५० लाख जनसङ्ख्या रहेको र युरोपमै दोस्रो ठूलो भूभाग रहेको देशको सत्ता ७२ घण्टाभित्र हातमा लिने उनले प्रयास गरे।
यो आश्चर्यजनक र लापरबाहीपूर्ण खेल थियो र त्यो पहिलो र महत्त्वपूर्ण साता नै पूर्ण रूपमा विफल भयो।
पुटिनसँग यो युद्धलाई ठूलो बनाउने सीमित विकल्प छन्, युक्रेनभित्रै ठूलो बनाउने वा उसको सीमाभन्दा बाहिर गएर ठूलो बनाउने।
अहिलेको अवस्थामा हमलालाई तीव्र बनाइएको छ र युरोप हालैको समयमा सबैभन्दा खतरनाक क्षणमा पुगेको छ।
(from BBC)