अब साउदी अरेबियाले दिउँसो १२ देखि ३ बजेसम्म चर्को घाममा काम गर्न प्रतिबन्ध लगाउने भएको छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले दिउँसो १२ देखि ३ बजेसम्म घाममा काम गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
मन्त्रालयका अनुसार सबै निजी क्षेत्रका कम्पनी र प्रतिष्ठानहरूलाई समेट्ने गरी यो प्रतिबन्ध १५ जुनदेखि तीन महिनासम्म जारी रहने छ । मन्त्रिपरिषद्को निर्णयले निजी क्षेत्रका उद्यमहरूका कामदारलाई स्वस्थ, सुरक्षित कार्य वातावरण प्रदान गर्न, सूर्यको प्रकाश, गर्मीको तनावबाट हुने कुनै पनि जोखिम र हानिबाट जोगाउन बाध्य पार्ने भएको हो ।
प्रतिबन्धको समयमा कुनै कानुन उल्लङ्घन भएमा ग्राहक सेवा फोन नम्बर १९९९११ मार्फत सूचित गर्न सबैलाई आग्रह गरिएको छ। नियम उल्लंघन गर्ने कम्पनी तथा प्रतिष्ठानहरूलाई प्रत्येक उल्लङ्घनमा कम्तीमा ३ देखि १० हजार रियालसम्म जरिवाना हुनेछ।
गत वर्ष पनि मन्त्रालयको दिउँसो घाममा काम लगाउने सयौँ कम्पनीहरुलाई कारबाही गरेको थियो ।
साउदीमा करिब चार लाखको हाराहारीमा नेपाली कामदार रहेका छन्।