भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि रुपैयाँको नोटमा माता लक्ष्मी र भगवान् गणेशको तस्वीर राख्न केन्द्र सरकारलाई आग्रह गरेका छन् ।
इन्डोनेसियाको मुद्रामा गणेश भगवानको तस्वीर रहेको केजरीवालले स्मरण गराए । लगभग ८५ प्रतिशत मुसलमान र जम्मा २ प्रतिशत हिन्दूहरू भएको इन्डोनेसियाले हिन्दू देवताको तस्वीर नोटमा राख्दा भारतले त्यसो गर्न के आपत्ति भनी केजरीवालले सोधे ।
उनले पत्रकार सम्मेलन आयोजना गर्दै भने, ‘दिवालीमा लक्ष्मी–गणेश पूजा गर्दागर्दै मेरो मनमा एउटा विचार आयो । नोटमा त लक्ष्मी र गणेशको फोटो हुनुपर्छ । यसो गर्दा अर्थव्यवस्था राम्रो हुन्छ त म भन्दिनँ तर यसबाट भगवानको आशीर्वाद पाइन्छ ।’