अमेरिकाले इरानविरुद्ध प्रतिबन्ध कस्दै लगेर दुई देशबीच तनाव चर्किएको बेला यो घटना भएको छ। इरानको सेपाह न्यूजको वेबसाइटका अनुसार सङ्गठित तस्करीविरुद्ध जलसेनाको गस्तीका क्रममा सो ट्याङ्कर फेला परेको थियो।
इरानले इन्धन तस्करीको आरोपमा ट्याङ्कर समातेको यो दोस्रो पटक हो । गत जुलाई १५ मा इरानी सुरक्षाकर्मीहरूले पानामाको ध्वजावाहक एमटी रिया नामक जहाज आफ्नो नियन्त्रणमा लिएको थियो।
प्राप्त विवरणहरूमा सो ट्याङ्करमा सात लाख लिटर इन्धन भएको बताइएको छ। ट्याङ्करका सात चालकलाई पनि इरानी पक्षले आफ्नो नियन्त्रणमा राखेको छ। इरान सरकारले सञ्चालन गरेको टीभीलाई उद्धृत गर्दै समाचारसंस्था रोएटर्सले रेभुल्यूशनरी गार्ड कोरको जलसेनाले केही अरब देशका लागि इन्धन तस्करी गरिरहेको एउटा विदेशी ट्याङ्कर पर्सियन खाडीबाट आफ्नो नियन्त्रणमा लिएको उल्लेख गरेको छ।