logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनमा कोरोना भाइरसको तीव्र संक्रमणप्रति राष्ट्रपति सीको चिन्ता, ४२ को मृत्यु, १४ सय संक्रमित


अंकुरण खबर
2.145K
Shares

चीनका राष्ट्रपति सी चिनपिङले खतरनाक नयाँ कोरोनाभाइरस तीब्र रुपमा फैलिरहेको बताएका छन् । लुनार नयाँ वर्षको अबसरमा आयोजित विशेष बैठक पछि बौल्दै उनले संक्रमण तीब्र रुपमा फैलिंदा गम्भीर अबस्थाको सामना गर्नु परेको बताए ।

चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या कम्तिमा ४२ पुगेको छ । १४ सय संक्रमित भेटिएका छन् । सेनाको विशेष मेडिकल समुह वुहान पुगेको अधिकारीहरुले जनाएका छन् ।

हुवेइ शहरमा एक जना चिकित्सककै मृत्यु भएको छ । संक्रमण फैलदै गएपछि नयाँ वर्षका महत्वपूर्ण समारोहहरु रद्द गरिएका छन् । वुहान शहरका अस्पतालहरु संक्रमणले चिन्ताग्रस्त मानिसहरुले भरिभराउ भएका छन् भने औषधीको अभाव हुन थालेको छ ।

आवतजावतमा प्रतिबन्ध लगाइएको शहरमा संक्रमण नियन्त्रणका लागि भन्दै एक हप्ताभित्र निर्माण सक्ने गरी हजार वेड क्षमताको अस्पताल निर्माण भैरहेको अधिकारीहरुले जनाएका छन् ।

१ करोड १० लाख जनसंख्या भएको वुहानमा पहिलो पटक यो भाइरस देखिएको थियो  । संक्रमण अहिले यूरोपमा पनि फैलिएको छ । फ्रान्सका तीन जना र अष्ट्रेलियामा एक जना संक्रमित भेटिएका छन् ।

यसअघि थाइल्याण्डमा पाँच, जापान, भियतनाम, दक्षिण कोरियामा दुई–दुई र ताइनवानमा एक जना संक्रमित भेटिएका छन् । नेपालमा पनि एक जनामा कोरोनाभाइरस संक्रमित भएको पुष्टि भएको छ ।

अमेरिका, बेलायत र क्यानडामा संक्रमणको आशंकामा परीक्षण भैरहेको बताइएको छ । जनावरबाट मानिसमा सर्ने यो भाइरस मानिसबाट मानिसमा सरेको समेत पुष्टि भैसकेको छ ।

यो भाइरसको संक्रमण भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, स्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षणहरु देखा पर्ने चिकित्सकहरु बताउंछन् । एजेन्सी