logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन


अंकुरण खबर
923
Shares

काठमाडौं- नयाँ दिल्ली भारतीय पूर्व विदेशमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टी भाजपाकी वरिष्ठ नेतृ सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ ।

राजधानी नयाँ दिल्लीस्थित एम्स अस्पतालमा मंगलबार अबेर उनको निधन भएको हो । मंगलबार बेलुकी हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । एक्कासी हृदयघात भएपछि उनलाई स्थानीय समयअनुसार राति सवा १० बजे अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । अस्पतालमा उनको परिवारका सदस्य भाजपाका वरिष्ठ नेताहरु डा. हर्षवद्र्धन, नितिन गड्करी, पियूष गोयललगायतको उपस्थिती थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा उनले सन् २०१४ देखि २०१९ सम्म भारतको विदेशमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । निकै हक्की र भारतलाई विश्वमा प्रतिनिधित्व गराउनका लागि विदेशमन्त्रीको रुपमा उनले निकै प्रभावशाली भूमिका निर्वाह गरेकी थिइन् ।

यसअघि उनले सन् २००९ देखि २०१४ सम्म संसद्मा विपक्षी दलको नेताको रुपमा जिम्मेवारी सम्हालेकी थिइन् । उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दल काँग्रेससहितका राजनीतिक दल तथा नेताहरुले शोक व्यक्त गरेका छन् ।

सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी उनले यसैवर्ष भएको आम निर्वाचनमा भने स्वास्थ्यका कारण उम्मेद्वारी दिएकी थिइनन् । हालै नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा दोश्रो कार्यकालको सपथ ग्रहण गर्ने बेला पहिलो कार्यकालमा आफूलाई विदेशमन्त्रीको जिम्मेवारी दिएकोमा उनले प्रधानमन्त्रीलाई धन्यवाद दिएकी थिइन् । उनका पतिसहित एक छोरी छिन् ।