कोरोना भाइरसका कारण चीनसहित विभिन्न देशमा मृत्यु हुनेको संख्या दुई हजार एक सय भन्दा बढी पुगेको छ। पछिल्लो पटक सार्वजनिक गरिएको तथ्यांक अनुसार चीनलगायत विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई हजार एक सय बीस पुगेको हो ।
चीनको हुबेइ प्रान्तको स्वास्थ्य प्राधिकरणका अनुसार हिजो मात्र एक सय आठ जनाको मृत्यु भएको छ । गत डिसेम्बरमा सुरु भएको कोरोनाका कारण हुबेइ प्रान्तमा मात्र दुई हजार बीस जनाको मृत्यु भइसकेको छ । यस्तै अन्य शहरसहित चीनमा मात्र दुई हजार एक सय बाह्र जनाको ज्यान गएको छ ।
चीन बाहेक हङकङ, फिलिपिन्स, जापान, फ्रान्स र इरानमा पनि कोरोना प्रभावितहरुको मृत्यु भएको छ। विश्वभर कोरोनाका कारण ७६ हजार भन्दा बढी प्रभावित भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।
यसैबीच कोरोनाको संक्रमण रोक्न जहाजलाई नै क्वारेन्टाइनमा राखेपछि जापानको सर्वत्र आलोचना भएको छ । जापानले जहाजमा रहेका चालक दलका सदस्यसहित तीन हजार सातसय यात्रु मध्ये २१ जनामा कोरोनाको सरंक्रमण देखिएपछि जहाजसहित सबै यात्रुलाई क्वारेन्टाइनमा राखेको थियो ।
यसैबीच इरानको तेहरानमा पनि कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ । तेहरानको दक्षिणी शहर कूममा दुई जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मध्यपूर्वको कोरोनाको प्रभाव पहिलो पटक देखिएको हो ।