logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनमा कोरोनाका २ सय ६० बिरामी मात्रै बाँकी, जनजीवन सामान्य बन्दै


अंकुरण खबर
1.027K
Shares

कोरोना भाइरस (कोभिड–१९) को उदगमस्थल चीनमा अब यो रोगबाट निको हुन बाँकी बिरामी संख्या दुई सय ६० मात्रै बाँकी रहेको बताइएको छ ।

शुक्रबार चीनको नेसनल हेल्थ कमिसनले दिएको जानकारी अनुसार, पछिल्लो २४ घण्टामा कोरोना भाइरसका केवल एक जनामात्र नयाँ संक्रमित भेटिएका छन् । यससँगै चीनमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ८२ हजार ८ सय ८६ पुगेको छ । तर, यसमध्ये ७७ हजार नौ सय ९३ जना निको भएर घर फर्किसकेका छन् । चार हजार ६ सय ३३ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

सुरुवातमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको चीन पछिल्लो समयमा भने कोरोना भाइरस नियन्त्रणमा सफल देखिएको छ ।

गत मार्च १ मा चीनमा कोरोना भाइरसका संक्रमितको संख्या ८० हजार पुगेको थियो । त्यसयता दुई महिनाभन्दा लामो समयमा दुई हजार पाँच सयको हाराहारीमा मात्र कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

यो अवधिमा औसतमा दैनिक ४१ जनाको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । अहिले भने नयाँ संक्रमित थपिने संख्या एक अंकमा झरिसकेको छ ।

मार्च १ मा चीनमा निको हुन बाँकी संक्रमितको संख्या ३२ हजार ६ सय १६ थियो । अहिले निको हुन बाँकी दुई सय ६० जनामा पनि केवल १८ जना मानिसमा गम्भीर लक्षण देखिएको छ ।

कोरोना भाइरस नियन्त्रणमा आउन थालेपछि विस्तारै लकडाउन खुकुलो पारिएको छ । लकडाउन खुकुलो भएपछि जनजीवन सामान्य अवस्थामा फर्किन थालेको छ ।