उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नरहेको दाबी गरिरहेको छ । संक्रमण फैलेला भन्ने डरले उत्तर कोरियालले विभिन्न उपायहरु भने अपनाइरहेको बताएको छ ।
त्यसका लागि उसले मास्क अनिवार्य गरेको छ । मास्क नलगाउनेमाथि कडा कारबाही गर्ने चेतावनी उत्तर कोरियाले दिएको समाचारहरु सार्वजनिक भएको छ ।
रेडियो फ्रि एसियाको एक रिपोर्टअनुसार उत्तर कोरियामा लागू भएको नयाँ नियम अनुसार त्यहाँ मास्क नलगाउने मानिसलाई पक्राउ गरी ३ महिनाको कडा श्रमकैदको सजायँ दिइनेछ ।
मास्क नलगाउने मानिसहरुको पहिचान गर्ने तथा पक्राउ गर्नका लागि विद्यार्थीहरुको टोली गठन गरिनेछ । मास्क गस्ती टोली भनिने उक्त विद्यार्थी टोलीहरुमा छिटै नै विद्यार्थीहरुको भर्ती सुरु गरिने पनि बताइएको छ ।
उत्तर कोरियामा कोरोना भाइरस फैलिन नदिनका लागि मानिसहरुलाई समूहमा जम्मा हुनमा रोक लगाइएको छ भने मास्क पहिरिनुपर्ने र सीमाक्षेत्रमा काम गर्ने मानिसहरुलाई छुट्टै बस्नुपर्ने नियम बनाइएको छ ।
उत्तर कोरियाली नेता किम जोंग उनले जुलाई महिनाको सुरुआतमै आफ्नो मुलुकले कोरोनाविरुद्धको लडाइँ जितेको घोषणा गर्दै अब उत्तर कोरियामा कोही पनि कोरोना संक्रमित नभएको जिकिर गरेका थिए । यद्यपि उनको दाबीको स्वतन्त्र रुपमा पुष्टि गर्ने कुनै आधार भने छैन । एजेन्सी