भारतका पूर्वकेन्द्रीय मन्त्री जसवन्त सिंहको ८२ वर्षको उमेरमा मृत्यु भएको छ ।
लामो समयदेखि बिरामी रहेका भाजपाका संस्थापक सदस्य सिंहको आइतबार मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सन् २००४ मा घरकै बाथरुममा लडेर गम्भीर घाइते भएका सिंह लामो समय कोमामा थिए । उनलाई दिल्लीको आर्मी हस्पितलमा २५ जुनमा भर्ना गरिएको थियो । सिंहले भारतको विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय सेनाका मेजर पनि थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै सिंहको निधनप्रति दुख व्यक्त गरेका छन् । उनले लेखेका छन्र, ‘जसवंत सिंहले सैनिकको रुपमा र पछि राजनीतिमा जोडिएर समर्पणका साथ देशको सेवा गरे।’