अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध सिनेटमा हुन लागेको महाभियोगमाथिको सुनुवाइका लागि प्रतिरक्षा गर्न दुईजना वकिल नियुक्त गरेका छन् ।
ट्रम्पविरुद्ध एक कार्यकालमै दुई पटक महाभियोग लागेको थियो। ट्रम्पले नियुक्त गरेका वकिलहरुमा डेभिड सोएन र ब्रुस एल. क्यास्टर जुनियर रहेका छन् । विगतमा ट्रम्पसँग रहेका कतिपय वकिलले बिदा लिइसकेकाले थप दुई वकिल राख्नु परेको हो ।
अमेरिकी सिनेटमा आगामी फेब्रुवरी ८ देखि महाभियोगमाथि सुनुवाई हुँदैछ। ट्रम्पको गत जनवरी २० मा कार्यकाल समाप्त भए पनि अमेरिकी संसद भवनमा ट्रम्पको उक्साहटमा आक्रमण भएको भन्दै डेमोक्रेट पार्टीले उनीविरुद्ध अविश्वास प्रस्ताव अघि बढाएको छ ।
अमेरिकी तल्लो सदनले महाभियोग लगाउने प्रस्ताव स्वीकृत गरी सिनेटमा पठाइसकेको छ । अमेरिकी संविधान र कानुन बमोजिम सिनेटको दुई तिहाईले पारित गरेमा मात्र कुनै पनि राष्ट्रपतिविरुद्ध महाभियोग पारित हुने प्रावधान छ ।
सिनेटमा हाल रिपब्लिकन र डेमोक्रेटिक पार्टीबाट समान ५०–५० सदस्य रहेकाले ट्रम्पविरुद्धको महाभियोग पारित हुने सम्भावना भने कम रहेको छ ।
हालसम्म पाँचजना रिपब्लिकन सिनेटर सदस्यले मात्र ट्रम्पविरुद्धको महाभियोग लगाउनुपर्ने मत सार्वजनिक गरेका छन् । महाभियोग पारित हुन अझै १७ रिपब्लिकन सिनेटरले समर्थन जनाउनु पर्नेछ। जुन निकै कठिन छ । रासस