logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिनिया राष्ट्रपति सीलाई मन फुकाएर स्वागत गर्दै नेपाल


अंकुरण खबर
2.067K
Shares

काठमाडौं – चीनका राष्ट्रपति सी जिनपिङ्ग नेपाल आउने निश्चित भएपछि तयारी तीव्र ढंगले अघि बढिरहेको छ । चिनियाँ जहाजले बुधबार त्रिभुवन विमानस्थलमा ‘टेस्ट फ्लाइट’समेत गरेको छ । यद्यपि औपचारिक रुपमा अझै पनि भ्रमणको कार्यतालिका सार्वजनिक गरिएको छैन ।

चीनको राष्ट्रपति तहबाट २३ वर्षको अन्तरमा पहिलो पटक नेपाल भ्रमण हुन लागेको हो । यसअघि तत्कालीन राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेका थिए । लामो समयपछि चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्न लागेकोले नेपालका तर्फबाट यो भ्रमणलाई ठूलो महत्व दिन लागिएको हो ।

उच्च स्रोतका अनुसार सीलाई नेपालका तर्फबाट मन फुकाएर स्वागत गरिनेछ । त्यसका लागि राजधानीका विभिन्न सडकमा रंगरोगन र टालटुलको प्रक्रिया केही अघि देखि नै तीव्र पारिएको थियो ।  सी नेपाल आउनुअघि भारतको भ्रमणमा जाने कार्यक्रम रहेको छ । भारतमा पनि भ्रमणको औपचारिक रुपमा जानकारी गराइएको छैन । तर, उनले यही असोज २४ र २५ गते भारत भ्रमण गर्ने र २५ गते नै बास बस्न नेपाल आउने लगभग तय भएको स्रोतहरुले बताएका छन् ।

परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुले एजेण्डाको बारेमा अझै पनि छलफल भइरहेको जनाएका छन् । भ्रमणका क्रममा सुपुर्दगी सन्धीको विषयमा पनि छलफल हुन सक्नेछ । त्यसबाहेक बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआइ) को मापदण्डभित्र रहेर सडक तथा रेलमार्गको कनेक्टिभिटीका सम्बन्धमा विशेष छलफल हुने हुने सम्भावना रहेको जनाइएको छ । रेलको विषयमा नेपाल र चीनबीच रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने सहमति नेपालको तर्फबाट अपेक्षा गरिएको छ ।