कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट भारतीय अभिनेता सतिश कौलको निधन भएको छ ।
कोरोना भाइरसको संक्रमणबाट अस्पताल भर्ना गरिएका कौलको शनिबार निधन भएको हो । ७४ वर्षीय कौल पछिल्लो ६ दिनदेखि अस्वस्थ थिए ।
‘पछिल्लो ५/६ दिनदेखि उहाँलाई ज्वरो आएको थियो । त्यसैले बिहीबार उहाँलाई हामीले श्री रामा च्यारिटेबल अस्पताल भर्ना गरायौं,’ कौलकी बहिनी सत्या देवीले भारतीय सञ्चारमाध्यमसँग भनेकी छन्, ‘अस्पताल भर्ना गराउँदा उहाँलाई कोरोना संक्रमणको पुष्टि भयो ।’
कौलले हिन्दी र पञ्जावी गरी ३०० भन्दाबढी चलचित्रमा काम गरिसकेका छन् ।
बलदेवराज चोपडाले निर्माण गरेको चर्चित धारावाहिक श्रृङ्खला ‘महाभारत’मा कौलले भवन इन्द्रको भूमिका निभाएका थिए ।
७० को दशकमा अभिनय यात्रा शुरु गरेका कौलले थुप्रै चर्चित फिल्महरुमा समेत काम गरेका छन् । राम लखन’, ‘प्यार तो होना हि था’, ‘अन्टि नम्बर १’ उनले अभिनय गरेका चर्चित बलिउड फिल्म हुन् ।
कोरोनाका कारण गत वर्ष जारी गरिएको लकडाउनका बेला भने उनले आफू आर्थिक रुपमा कमजोर भएको बताएका थिए । सञ्चारमाध्यमसँग कुरा गर्दै उनले औषधि र उपभोग्य वस्तु खरिदका लागि समेत संघर्ष गरिरहेको बताएका थिए ।
‘म औषधि, ग्रोसरी लगायत आधारभूत आवश्यकताका लागि पनि संघर्ष गरिरहेको छु । म इन्डस्ट्रिका मानिसहरुसँग मलाई सहयोग गर्न अपिल गर्छु,’ गत वर्षको लकडाउनका बेला कौलले भनेका थिए, ‘मैले अभिनेताका रुपमा धेरै माया पाएको छु । अब भने एक मानवको रुपमा केही सहयोग चाहन्छु ।’