logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिनियाँ कम्युनिष्ट पार्टीको मंगलबार उच्चस्तरीय भर्चुलअल सम्मेलन, १६० भन्दा बढी मुलुकका नेताहरुको सहभागिता


अंकुरण खबर
1.937K
Shares

चिनियाँ कम्युनिष्ट पार्टीले मंगलबार नेपालसहित विश्वका १६० भन्दा बढी मुलुकका राजनीतिक दलका नेताहरुको उच्चस्तरीय भर्चुलअल सम्मेलन गर्दैछ ।

पार्टी स्थापना भएको १०० वर्ष पुगेको अवसरमा आयोजित ‘वर्ल्ड पोलिटिकल पार्टिज समिट’मा विश्वका दश हजार नेताहरुको सहभागीता रहने बताइएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीले यति धेरै राजनीतिक दलहरुसँग एउटै प्लेटफर्ममा पहिलो पटक अन्तर्क्रिया आयोजना गरेको हो । चिनियाँ सञ्चारमाध्यमका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको विकासक्रमबारे विश्व समुदायलाई बुझाउन सो कार्यक्रमको आयोजना गरिएको हो ।
अन्तरक्रियामा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपप्रमुख गुहो याजाउका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीले विकासमा प्राप्त गरेको सफलताबारे विश्वलाई जानकारी गराउन र चीनले पाएको सफलताका पछाडि रहेको राजनीतिक कारण र यसको संगठनात्मक विषयबारे जानकारी गराउने उदेश्यले अन्तरक्रियाको आयोजना गर्न लागेको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीको बारेमा विशेषगरी पश्चिमा मुलुकहरुमा तीव्र आलोचना हुन थालेपछि चीनले केही समययता विश्वभरका राजनीतिक दलहरुसँग भाइचाराको सम्बन्ध विकास गर्दै गएको छ । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार विश्वका ५६० भन्दा बढी राजनीतिक दल र संस्थासँग चिनियाँ कम्युनिष्ट पार्टी सम्वाद र सम्पर्कमा छ । चिनियाँ विज्ञहरुले यसलाई अन्तरपार्टी कूटनीतिको संज्ञा दिएका छन् ।

मंगलवारको अन्तरक्रियाले विश्वसँग चीनको संवाद र सम्पर्क विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।