logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुसलधारे वर्षाका कारण भेनेजुयलामा २० जनाको मृत्यु


अंकुरण खबर
1.053K
Shares

मुसलधारे वर्षाका कारण भेनेजुयलामा कम्तीमा २० जनाको मृत्यु भएको छ।

देशको पश्चिमी क्षेत्रमा वर्षापछि आएको बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन्।

उनीहरुका अनुसार बाढी पहिरोका कारण अरु १७ जना अझै पनि बेपत्ता भएका छन्। देशका नौ प्रदेशलाई सङ्कटग्रस्त क्षेत्रका रुपमा लिइएको छ।

बाढी पहिरोका कारण त्यस क्षेत्रका ५४ हजारभन्दा बढी मानिस प्रभावित भएको गृह मन्त्री रेमीगियो सेबालोसले जानकारी दिए।

राष्ट्रिय टेलिभिजनबाट संवोधन गर्दै उनले भारी वर्षा आगामी १० दिन पनि कायमै रहने सम्भावना देखिएको बताए।

उनले वर्षाको सम्भावना अझै बाँकी रहेकोले बाढी पहिरो अझै बढ्न सक्ने खतरा रहेको पनि उल्लेख गरे।

थप बाढी पहिरोको खतरा रहेकाले सतर्कता अपनाउन सबै निकायलाई आग्रह गर्दै उनले उद्धारकार्यका लागि तयारी अवस्थामा रहन सरकारी अधिकारीलाई निर्देशन दिए।

बाढी पहिरोका कारण यातायात सेवा प्रभावित हुनुका साथै विद्युत र सञ्चार सेवासमेत अवरुद्ध भएको छ।

आम नागरिकको दैनिकी नै नराम्रोसँग प्रभावित भएको र धेरै मानिस त्रसित अवस्थामा रहेको अधिकारीले जानकारी दिएका छन्।