बिहीबार साँझ अफगातिस्तानको राजधानी काबुलको अन्तर्राष्ट्रिय विमानस्थल बाहिर विस्फोटन हुँदा हालसम्म मृत्यु हुनेको संख्या ९० भन्दा बढी पुगेको छ।
अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले शुक्रबार सीएनएनलाई दिएको जानकारीअनुसार हालसम्म सो घटनामा १५० भन्दाबढी व्यक्ति घाइते भएका छन्।
अमेरिकाले सो घटनामा आफ्ना १३ सेना ज्यान गएको बताउँदै आईएसविरुद्ध बदला लिने बताएको छ। यसबीचमा रोयटर्स समाचार संस्थाले उक्त विस्फोटनमा २८ तालिबानीको मृत्यु भएको जानकारी दिएको थियो। तर यतिबेला तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बीबीसीसँग आफ्ना कुनै सदस्यको ज्यान नगएको बताएको छ।
उनले भनेका छन्,‘काबुल विमनस्थल बाहिर भएको धमाकामा हामीलाई कुनै नोक्सानी भएको छैन। किनभने सो विस्फोटन अमेरिकी सेनाको नियन्त्रण क्षेत्रमा भएको हो।’ तालिबानले अफगानिस्तान कब्जा गरेपछि विस्थापित भएका त्यहाँका उपराष्ट्रपति अमरुल्लाह सालेहले भने काबुलमा भएको विस्फोटनमा तालिबान र हक्कानी नेटवर्कको हात भएको आरोप लगाएका छन्। उनका अनुसार तालिबान र आईएससँग राम्रो सम्बन्ध छ।
हाल काबुलको अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सेना तथा बेलायती सेनाहरु तैनाथ छन्। उनीहरुले उद्धार कार्य गर्न सहयोग गरिरहेका छन्। आफ्ना सेना तथा नागरिक अफगानिस्तान भइन्जेल कुनै आक्रमण नगर्न अमेरिकाले तालिबानलाई चेतावनी दिएको थियो।