logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तालिबानको विवादस्पद अभिव्यक्ति, भन्योः महिलाले बच्चा जन्माउने हो मन्त्री बन्ने होइन


अंकुरण खबर
1.417K
Shares

गत बुधबार महिलाहरुले अफगानिस्तानको राजधानी काबुलमा महिला अधिकारको नारा लगाउँँदै तालिबानसँग प्रश्न गरेका थिए,‘महिलालाई मन्त्री बनाउने हिम्मत छ?’

जवाफमा तालिबानका लडाकुले महिलामाथि कुटपिट गरेका थिए। कुटपिटको घटनाको फोटो तथा भिडिओहरु सार्वजनिक भएका छन्। महिलाहरुले गर्भवती पूर्व प्रहरीको तालिबानले हत्या गरेको भन्दै विरोध पनि गरेका थिए।

यतिबेला महिलालाई कुटपिट गरेको भिडिओ सार्वजनिक भएपछि तालिबान लडाकुको आलोचना भइरहेको छ। तालिबानले महिला अधिकार सुनिश्चित गर्ने वाचा गरेपनि महिलामाथि कुटपिट गरेको घटना सार्वजनिक भएपछि तालिबान दुष्ट शासनतर्फ अगाडि बढेको विश्लेषण भइरहेको छ।

यसबीचमा तालिबानका एक प्रवक्ता सायिद जकेरुल्लाह हासिमीले महिलाविरुद्ध दिएको अभिव्यक्तिले झनै तालिबान सरकार महिलामैत्री नहुने पुष्टि हुन्छ। महिलाहरुले आफूहरुलाई पनि तालिबान सरकारको मन्त्री बनाउनुपर्ने भन्दै प्रदर्शन गरेको सन्दर्भमा प्रवक्ता हासिमीले टोलो न्युजसँग भनेका छन्,‘महिला मन्त्री बन्न सक्दैनन्। उनीहरुलाई मन्त्री पद दिनु घाँटीमा वजनदार बस्तु राखिदिनु जस्तै हो।’

उनले केही महिलाले प्रदर्शन गर्दैमा उनीहरुले पुरै अफगानिस्तानको प्रतिनिधित्व नगर्ने भन्दै विवादस्पद अभिव्यक्ति पनि दिए। उनले भनेका छन्,‘महिलाले बच्चा जन्माउने हो मन्त्री बन्ने होइन।’ प्रवक्ताबाटै यस्तो अभिव्यक्ति आएपछि तालिबान सरकार क्रुरतातर्फ अगाडि बढेको विश्लेषण भइरहेको छ। इन्डिया टुडे